`

हान्ताभाइरसको सङ्क्रमण पुष्टि : तीन जनाको मृत्यु

Nepal One HD ४ जेठ २०८३ १६:२८
जीवनशैली/स्वास्थ्य

एजेन्सी। क्यानडाको सार्वजनिक स्वास्थ्य एजेन्सी (पब्लिक हेल्थ एजेन्सी अफ क्यानडा) ले ब्रिटिश कोलम्बियामा एक क्रुज यात्रुमा हान्ताभाइरसको पहिलो सङ्क्रमण पुष्टि भएको जनाएको छ । सङ्क्रमित व्यक्ति हाल आइसोलेसनमा राखिएको छ ।

एजेन्सीका अनुसार ब्रिटिश कोलम्बियाबाट संकलित नमूनाहरू विनिपेगस्थित राष्ट्रिय माइक्रोबायोलोजी प्रयोगशालामा परीक्षणका लागि पठाइएको थियो, जहाँ शनिबार एक व्यक्तिमा सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमितसँगै यात्रा गरेका अर्का व्यक्तिको परीक्षण नेगेटिभ आएको छ भने उच्च जोखिममा रहेका सम्पर्कहरूलाई आइसोलेसनमा राखेर निगरानी भइरहेको छ ।

एजेन्सीले हालका लागि क्यानडामा आम नागरिकमा सङ्क्रमणको जोखिम कम रहेको स्पष्ट पारेको छ । यो सङ्क्रमण ‘एमभी होन्डियस’ नामक क्रुज जहाजसँग सम्बन्धित यात्रामा देखिएको हो, जससँग जोडिएर हालसम्म तीन जनाको मृत्यु भइसकेको जनाइएको छ ।

स्वास्थ्य अधिकारीहरूका अनुसार हान्ताभाइरस संक्रमित मुसा वा अन्य कृन्तक जनावरको पिसाब, दिसा वा र्‍यालसँग सम्पर्कमा आउँदा मानिसमा सर्ने गर्दछ । यसको लक्षणमा ज्वरो, टाउको दुखाइ, मांसपेशी दुखाइ तथा गम्भीर अवस्थामा सास फेर्न गाह्रो हुने र फोक्सो-मुटुमा असर पर्ने जोखिम हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *