बालेन प्रधानमन्त्री भएपछि वैदेशिक रोजगारीमा जाने १२ हजार बढे
काठमाडौं । बालेन सरकार गठन भए पनि देशमा रोजगारीको सम्भावना नदेखेर वैशाख महिनामा मात्रै ७४ हजार भन्दा बढी विदेशिएका छन् ।
२१ फागुनमा भएको चुनावअघि देशमै रोजगारीको वातावरण सिर्जना गर्ने बाचा बालेन र रास्वपा सभापति रवि लामिछानेले जनतामाझ गरेका थिए ।
१३ चैतमा बालेन प्रधानमन्त्री भए पनि रोजगारी सिर्जना गर्ने कुनै सुरसार नगरी रोजगार प्रदायक निजी क्षेत्रमाथि प्रहार गर्न थालेपछि युवाहरूको लर्को विदेशतिर देखिएको हो ।
वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार वैशाखमा ७४ हजार ४ सय २९ जनाले श्रम स्वीकृति (पुनः) लिएका छन् ।
तीमध्ये ६५ हजार १० पुरुष र ९ हजार ४ सय १९ महिला छन् । उक्त अवधिमा ४१ हजार ३ सय २४ जनाले श्रम स्वीकृति लिएका छन् भने ३३ हजार १ सय ५ जनाले पुनः श्रम स्वीकृति लिएका छन् ।
बालेन प्रधानमन्त्री भएको महिना चैत २०८२ मा भने ६१ हजार ८ सय १९ जनाले श्रम स्वीकृति (पुनः)लिएर वैदेशिक रोजगारीमा गएका थिए ।
चैतको तुलनामा वैशाखमा १२ हजार ६ सय १० जना बढीले वैदेशिक रोजगारीमा गएका हुन् ।
