`

अघिल्लो संसदमा कपी लिएर सभामुखका अघि बसेका अर्याल देख्दैछन् हर्ककाे विराेधशैली ‘असं‌सदीय’

Nepal One HD ६ जेठ २०८३ १३:४७
राजनीति

काठमाडौं । प्रतिनिधि सभामा बुधबार हर्क साम्पाङ नेतृत्त्वकाे श्रम संस्कृति पार्टीका सांसदहरूले गरेको प्रदर्शनले सदनको वातावरण फेरि तात्यो ।

प्लेकार्ड बोकेर साम्पाङसहितका सांसदहरू बारम्बार उभिने र नारा लगाउने गर्ने कार्य दोहोरिएपछि सभामुख डोलप्रसाद अर्याल  चिढिए । उनले पार्टी अध्यक्ष हर्क साम्पाङसहितका सांसदलाई संसदीय मर्यादा पालन गर्न कडा चेतावनी दिए ।

बुधबारको बैठकमा श्रम संस्कृति पार्टीका ६ जना सांसदले बालेन सरकारले संसदको अवमूल्यन गरेको, संसदीय प्रणालीप्रति वितृष्णा फैलाउने गतिविधि गरिरहेको, सुकुम्बासी र निम्‍न वर्गमाथि राज्य आतंक मच्चाएको र सरकार दमनतर्फ उन्मुख भएको आरोप लगाउँदै प्लेकार्डमार्फत् ध्यानाकर्षण गराए । विराेध लगातार भएपछि सभामुख अर्यालले संसदीय मर्यादा उल्लंघन भएको भन्दै आपत्ति जनाए ।

उनले भने, ‘हर्कराज राईसहित श्रम संस्कृति पार्टीका माननीय सदस्यहरूले सभाको मर्यादाविपरीत प्लेकार्ड देखाउने र अभद्र व्यवहार दोहोर्‍याइरहनुभएको पाइएको छ । प्रतिनिधि सभा नियमावली २०७९ को नियम ३० बमोजिम म चेतावनी दिन्छु-आफ्नो व्यवहार सच्याउनुहोस्।’

साम्पाङ भने बालेन सरकारलाई सदनप्रति जवाफदेही बनाउन दबाब दिइरहेका छन् । एक विपक्षी दलका नेताले समेत श्रम संस्कृति पार्टीको विरोध शैलीलाई समर्थन गर्दै नेपालवान एचडीसँग भने, ‘बालेन सरकारले संसदप्रति देखाएको उदासीनता र बहुमतको दम्भ अत्यन्त चिन्ताजनक छ । श्रम संस्कृतिका सांसदहरूको शैली विरोध योग्य छ ।’

यसबीच, अघिल्लो प्रतिनिधि सभामा रास्वपाका सांसदहरूले झनै असंसदीय गतिविधि प्रदर्शन गरेका थिए । निलो स्कार्फ बेरेर सदनमा आउने, कपी हातमै लिएर सभामुखको अगाडि बस्ने र तत्कालीन सभामुख देवराज घिमिरेलाई बैठक सञ्‍चालनमा अवरोध पुर्‍याउनेजस्ता ।

सोही गतिविधिमा सहभागीमध्ये अहिलेका सभामुख डोलप्रसाद अर्याल स्वयं पनि थिए, जसलाई उनीहरूले ‘नयाँ दलको नयाँ अभ्यास’ भनेर बचाउ गर्थे । तर, आज भने उनी नै सभाको मर्यादा जोगाउन कठोर बनेका छन् ।

बुधबार पनि मन्त्रीहरूले दिएका जवाफप्रति श्रम संस्कृति पार्टीका सांसदहरूले चित्त नबुझेको भन्दै निरन्तर आपत्ति जनाए । उठेर विराेध गरे । जुन गतिविधि सभामुख अर्याललाई मन परेन र फेरि व्यवहार सच्याउन रुलिङ गरे । यसपछि सांसद ध्रुव राई आक्राेशित भए र सभामुखतर्फ फर्केर सोधे, ‘के गर्नुहुन्छ ?’

सभामुखले संविधान, संसदीय संस्कृति र प्रतिनिधि सभा नियमावलीको उद्धरण दिंदै संयमित रहन आग्रह गरे । तर, चेतावनीपछि पनि श्रम संस्कृति पार्टीका सांसदहरूको विरोध थामिएन । उनीहरूले बैठक अवधिभरै आफ्ना माग र नारा निरन्तर उठाइरहे ।

संसदमा बढ्दो अवरोध र आक्रोशसँगै आगामी बैठकहरूमा पनि राजनीतिक तनाव झन् बढ्ने संकेत देखिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *