`

प्रधानमन्त्रीलाई सदनमा ल्याउन नसक्ने सभामुखले नियम घोकाउनु निन्दाजनक : हर्क साम्पाङ

Nepal One HD ७ जेठ २०८३ १०:१८
बिशेष

काठमाडौं । प्रधानमन्त्री तथा गृहमन्त्री बालेन्द्र शाह (बालेन) र अर्थमन्त्री स्वर्णिम वाग्लेलाई संसदप्रति उत्तरदायी बनाउन निरन्तर आवाज उठाउने श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले बताएका छन् ।

उनले सदनमा उपस्थित नभएर प्रधानमन्त्री बालेन र अर्थमन्त्री वाग्लेले प्रतिनिधि सभा नियमावलीको १५ (२)को बर्खिलाप गरेको र जवाफ नदिएर संसद् विधिसम्मत नचलिरहेको बताए ।

बारम्बार प्रश्न गर्दा बुधबार दुई जना मन्त्रीले जवाफ दिएको तर त्यो पनि सतही भएको उनको टिप्पणी छ ।

बिहीबार बिहान विज्ञप्ति जारी गर्दै अध्यक्ष साम्पाङले सभामुख डोलप्रसाद अर्यालप्रति आक्रोश पोखेका छन् । उनले बुधबार तीनपटक सभामुख अर्यालले रुलिङ गरेको तर्फ सङ्केत गर्दै भने, ‘म लगायत श्रम संस्कृति पार्टीका केही सांसदहरूले प्रश्न सोध्न खोज्दा सभामुखले प्रश्न सोध्न मिल्दैन भनेर भन्नु आपत्तिजनक घटना हो ।’

साम्पाङले सदन जनताका प्रश्नहरू सोध्ने, प्रश्नोत्तर गर्ने र जनहितमा काम गर्ने ठाउँ भए पनि २०८३–२–२८ र २९ गते राखेको प्रश्नको उत्तर नदिएको भन्दै गुनासो गरेका छन् ।

यहाँ साम्पाङले मिति गल्ती लेखेका छन् । उनले भन्न खोजेको वैशाखको २८ र २९ हो तर जेठको २८ र २९ गते लेखेका छन् । जबकि आज जेठको ७ गते हो ।

अध्यक्ष साम्पाङले बालेन सरकारको जवाफ नदिने प्रवृत्तिको भत्सर्ना गर्दै यसलाई संसदीय अभ्यासको इतिहासमा कालोधब्बाको रूपमा लिएको बताएका छन् ।

उनले सभामुखको भूमिकाप्रति पनि प्रश्न गरेका छन् । प्रधानमन्त्री बालेनलाई सदनमा ल्याउन नसक्ने सभामुखले विपक्षी दलका नेतालाई बारम्बार प्रतिनिधि सभा नियमावलीको नियम घोकाइरहन निन्दाजनक र हास्यास्पद भएको टिप्पणी गरे ।

उनले नियम भन्दा नियत ठूलो हुने भन्दै त्यो नियत जनताको पक्षमा र लोकतन्त्रको पक्षमा हुनुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *