नातिलाई समर्पित गर्दै पूर्वप्रधानमन्त्री कार्कीले लेखिन् यस्तो किताब
काठमाडौं । जेन-जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिमा अन्तरिम सरकारको नेतृत्व सम्हालेकी पूर्वप्रधानमन्त्री तथा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नयाँ साहित्यिक कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ प्रकाशन हुने भएको छ ।
कार्कीले जेन-जी आन्दोलनपछि बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहेकै चुनौतीपूर्ण समयमा यो कृति लेखेको उनको सचिवालयले जनाएको छ ।
सचिवालयका अनुसार आन्दोलनपछि तत्कालीन सरकार विस्थापित भई बनेको अन्तरिम सरकारको नेतृत्व गरिरहँदा देश अनिश्चितताको अवस्थामा थियो । त्यस्तो परिस्थितिमा पनि उनले कल्पनाशीलता र सिर्जनशीलता कायम राख्दै बालमनोविज्ञानलाई केन्द्रमा राखेर कृति तयार गरेकी हुन् ।
नेपालकी पहिलो महिला प्रधानन्यायाधीश कार्कीको जन्म २००९ साल जेठ २५ गते मोरङ, विराटनगरको शंखपुरमा भएको हो । किसानी परिवारमा हुर्किएकी उनी बीपी कोइराला परिवारसँग नजिक सम्बन्ध रहेको मानिन्छ । उनका पति दुर्गा सुवेदी प्रजातान्त्रिक आन्दोलनका सेनानी हुन् ।
शिक्षा यात्रामा उनले महेन्द्र मोरङ क्याम्पसबाट स्नातक, बनारस हिन्दु विश्वविद्यालयबाट राजनीति शास्त्रमा स्नातकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक उपाधि हासिल गरेकी थिइन् । त्यसपछि उनले २०४२ देखि २०४६ सालसम्म धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्यापनसमेत गरेकी थिइन् ।
वकालत पेशा २०३५ सालदेखि सुरु गरेकी कार्कीले विराटनगर पुनरावेदन अदालत बार एसोसिएसनको अध्यक्षको जिम्मेवारीसमेत सम्हालेकी थिइन् ।
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा रहेको संवैधानिक परिषद्बाट उनको नाम प्रधानन्यायाधीशमा सिफारिस गरिएको थियो । उनले आफ्नो कार्यकालमा सुडान शान्ति सेना भ्रष्टाचार प्रकरण, प्रहरी महानिरीक्षक नियुक्ति विवाद, अख्तियार प्रमुख लोकमानसिंह कार्कीको नियुक्ति बदरलगायत महत्वपूर्ण संवैधानिक तथा भ्रष्टाचारसम्बन्धी मुद्दामा निर्णय गरेकी थिइन् ।
उनको कार्यकालमा महाभियोग प्रस्ताव दर्ता भए पनि सर्वोच्च अदालतको आदेशपछि प्रक्रिया निष्क्रिय भएको थियो ।
सेवा निवृत्तपछि कार्की साहित्य लेखनमा सक्रिय रहँदै आएकी छन् । उनले ‘न्याय’ (संस्मरण) र ‘कारा’ (उपन्यास) प्रकाशित गरिसकेकी छन् । उनका लेखनमा न्याय, सत्ता, भ्रष्टाचार र मानव संवेदनाबीचको सम्बन्धलाई सरल र स्पष्ट रूपमा प्रस्तुत गरिएको पाइन्छ ।
नयाँ कृति ‘मिट्टी एन्ड द वाइल्ड क्याट’ उनले आफ्ना नातिलाई समर्पित गरेकी छन् । पुस्तकले प्रेम, आशा र सकारात्मकताको सन्देश दिने बताइएको छ । चराचुरूंगी र जनावरबीचको अन्तरक्रियामार्फत उपन्यासले समानुभूति, सहकार्य र पारस्परिक निर्भरताको भाव प्रस्तुत गर्नेछ ।
लेखक कार्कीका अनुसार यो पुस्तक अन्योल र अनिश्चितताको समयमा हुर्किरहेका बालबालिकाका लागि विशेष उपहारका रूपमा रहनेछ ।
उक्त कृति छिट्टै बजारमा उपलब्ध हुने बताइएको छ ।
