`

अनधिकृत रूपमा ‘डाक्टर’ उपाधि लेखे कारबाही गर्ने काउन्सिलको चेतावनी

Nepal One HD ८ जेठ २०८३ १४:२१
जीवनशैली/स्वास्थ्य

काठमाडौं । नेपाल मेडिकल काउन्सिलले चिकित्सक (डाक्टर) उपाधिको अनधिकृत प्रयोग तथा भ्रामक विज्ञापन गर्नेविरुद्ध कडा कानुनी कारबाही गर्ने चेतावनी दिएको छ ।

विभिन्न अस्पताल, निजी क्लिनिक, परामर्श केन्द्र तथा सामाजिक सञ्जालमार्फत गैर–चिकित्सक व्यक्तिहरूले समेत आफ्नो नामअघि अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरी उपचार, औषधी सिफारिस र परामर्श दिने कार्य बढ्दै गएको काउन्सिलले जनाएको छ । यसले सर्वसाधारणमा गम्भीर भ्रम सिर्जना गरी जनस्वास्थ्यमा प्रतिकूल असर पारिरहेको काउन्सिलको भनाइ छ ।

निमित्त रजिष्ट्रार डा. दिपेन्द्र पाण्डेले जारी गरेको सूचनामा काउन्सिल ऐन, २०२० अनुसार नेपालमा आधुनिक चिकित्सा प्रणालीअन्तर्गत उपचार, परामर्श तथा ‘डा.’ उपाधि प्रयोग गर्ने अधिकार काउन्सिलमा दर्ता भएका चिकित्सकलाई मात्र रहेको स्पष्ट पारिएको छ ।

सूचनामा मान्यता प्राप्त शिक्षण संस्थाबाट आधुनिक चिकित्साशास्त्रमा स्नातक वा सोभन्दा माथिल्लो उपाधि हासिल गरी काउन्सिलमा दर्ता भएका व्यक्तिलाई मात्र ‘चिकित्सक’ मानिने उल्लेख गरिएको छ ।

काउन्सिलका अनुसार पछिल्लो समय केही गैर–चिकित्सक स्वास्थ्यकर्मी तथा अन्य व्यक्तिले क्लिनिक, अस्पताल र सामाजिक सञ्जालमा समेत अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गर्दै उपचार तथा परामर्श दिने गरेको देखिएको छ ।

यस्ता गतिविधिले जनस्वास्थ्यमा प्रतिकूल असर पारेको भन्दै काउन्सिलले सम्बन्धित व्यक्तिहरूलाई १५ दिनभित्र आफ्नो नाम, प्रेस्क्रिप्सन, क्लिनिक साइनबोर्ड, भिजिटिङ कार्ड तथा सामाजिक सञ्जालबाट उक्त उपाधि हटाउन निर्देशन दिएको छ ।

काउन्सिलले तोकिएको समयसीमापछि विशेष अनुगमन टोलीमार्फत स्थल तथा डिजिटल माध्यमबाट कडा निगरानी गरिने जनाएको छ ।

अनधिकृत रूपमा ‘डा.’ उपाधि प्रयोग गरी बिरामी जाँच्ने वा परामर्श दिने कार्य गरेको पाइएमा काउन्सिल ऐन, २०२० अनुसार मुद्दा चलाइने चेतावनी दिइएको छ । सो ऐनअनुसार दोषी ठहरिएमा तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था रहेको काउन्सिलले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *