`

धम्की आएपछि ‘लुसिफर राइजीङ’ नाटक रोकियो,सरकार भन्छ- जानकारी छैन

Nepal One HD ११ जेठ २०८३ १२:४१
प्रमुख खबर

काठमाडौं। नाटक ‘लुसिफर राइजीङ’ को मञ्चन रोकिएपछि निर्माण पक्षले धम्की र दबाबका कारण कार्यक्रम स्थगित गर्नुपरेको दाबी गरे पनि सरकार भने यसबारे अनविज्ञ रहेको जनाएको छ।

थापागाउँस्थित एक थिएटर नेपालमा नियमित मञ्चन हुँदै आएको उक्त नाटक अज्ञात समूहको दबाबका कारण रोकिएको निर्माण पक्षको भनाइ छ। निर्माण टिमले आइतबार सूचना जारी गर्दै ‘अज्ञात राजनीतिक व्यक्ति, प्रवृत्ति र समूहको दबाब’ का कारण शो रोक्न बाध्य भएको जनाएको थियो। साथै, दर्शकप्रति क्षमासमेत मागिएको थियो।

तर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने यस विषयमा कुनै औपचारिक जानकारी वा उजुरी प्राप्त नभएको स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता जयनारायण आचार्यले भने, ‘हामीलाई यसबारे कुनै सूचना आएको छैन।’

निर्माण पक्षले दबाब दिने व्यक्ति वा समूहबारे स्पष्ट विवरण सार्वजनिक गरेको छैन। केवल ‘राजनीतिक प्रकृतिको दबाब’ उल्लेख गरिएकाले घटनाबारे थप अस्पष्टता देखिएको छ।

‘लुसिफर राइजीङ’ नाटक शक्ति, मानवीय द्वन्द्व र अराजकताले समाजमा पार्ने प्रभावलाई केन्द्रमा राखेर तयार गरिएको बताइएको छ। यसले शक्तिमा पुगेका व्यक्तिको मनोविज्ञान र त्यसका परिणामलाई चित्रण गर्ने प्रयास गरेको छ।

नाटक सहलेसले निर्देशन गरेका हुन् भने कलाकारहरूमा अनोज पाण्डे, तारा, बुद्धिराम चौधरी, मिलनबहादुर खड्का, सुब्रतराज सिलबाल, एडन बाती लगायत रहेका छन्।

घटनापछि कला क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र दबाबको विषयमा पुनः बहस सुरु भएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *