`

कंगोमा इबोला आतंक : ९०० भन्दा बढी संक्रमित, ११९ जनाको मृत्यु

Nepal One HD ११ जेठ २०८३ १३:१५
जीवनशैली/स्वास्थ्य

काठमाडौं। अफ्रिकी देश कंगोमा इबोला भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ। देशको पूर्वी भागमा देखिएको प्रकोपले अहिले गम्भीर रूप लिएको छ भने स्वास्थ्य अधिकारीहरू उच्च सतर्कतामा रहेका छन्।

कंगो सरकारका अनुसार हालसम्म इबोला संक्रमणका सम्भावित केसहरूको संख्या ९०० नाघिसकेको छ। एबीसी न्युजका अनुसार ९०४ वटा संक्रमणका केस पुष्टि वा आशंकित रूपमा दर्ता भएका छन्। यसैबीच, ११९ जनाको मृत्यु भइसकेको छ।

संक्रमणको अवस्था पहिलेको तुलनामा झनै चिन्ताजनक बन्दै गएको छ। यसअघि सार्वजनिक विवरणमा करिब ७०० भन्दा बढी केस र १७० भन्दा बढी मृत्यु भएको उल्लेख भए पनि पछिल्लो तथ्यांकले संक्रमणको फैलावट अझ व्यापक भएको देखाएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले यस प्रकोपलाई कंगोका लागि अत्यन्तै ठूलो स्वास्थ्य संकटका रूपमा मूल्याङ्कन गरेको छ। संक्रमण नियन्त्रणका प्रयासहरू जारी रहे पनि मृत्युदर र नयाँ केसहरूको वृद्धि रोक्न चुनौती बढ्दै गएको छ।

यद्यपि, विश्वव्यापी रूपमा संक्रमण फैलिने जोखिम तत्कालका लागि कम मानिएको छ। तर विभिन्न देशहरूले आफ्ना नागरिकलाई सतर्क रहन आग्रह गर्दै यात्रा तथा स्वास्थ्यसम्बन्धी एड्भाइजरी जारी गरेका छन्।

कंगोको सञ्चार मन्त्रालयका अनुसार हाल देखिएको प्रकोप विशेषगरी इतुरी प्रान्तमा केन्द्रित छ, जहाँ संक्रमण तीव्र रूपमा फैलिएको छ।

स्वास्थ्य विशेषज्ञहरूका अनुसार हालको प्रकोपका लागि ‘बन्डिबुग्यो स्ट्रेन’ जिम्मेवार रहेको अनुमान गरिएको छ। यो इबोलाको एक खतरनाक प्रकार मानिन्छ, जसको लागि हालसम्म कुनै स्वीकृत खोप वा विशेष औषधि उपलब्ध छैन। यही कारणले यो अवस्थालाई अत्यन्त गम्भीर रूपमा हेरिएको हो।

अधिकारिहरूले संक्रमण नियन्त्रणका लागि आइसोलेसन, सम्पर्क ट्रेसिङ र जनचेतना अभियानलाई तीव्र बनाइरहेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *