`

१२ वर्षमुनिका बालबालिका पनि चुरोटको लतमा

Nepal One HD १७ जेठ २०८३ १८:५९
जीवनशैली/स्वास्थ्य

काठमाडौँ । बालबालिकामा पनि सुर्तीजन्य पदार्थ सेवन गर्ने लत रहेको पाइएको छ । ‘विश्व सुर्तीजन्य पदार्थरहित दिवस’का अवसरमा आज स्वास्थ्य सेवा विभागले यहाँ आयोजना गरेको कार्यक्रममा विद्यालय पढ्ने १२ वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवन गर्ने गरेको पाइएको जानकारी दिइएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का अनुसन्धानकर्ता कुसुम शाहीले अध्ययन प्रतिवेदन प्रस्तुत सातवटै प्रदेशका ५० वटा विद्यालयमा कक्षा ७ देखि १० सम्म पढ्ने तीन हजार बालबालिकामा अध्ययन गरिएको जानकारी दिए ।

उनका अनुसार अध्ययनमा १० वर्षमुनिका बालबालिकाले पनि चुरोट सेवनमा लागेको पाइएको छ । त्यस क्रममा ५७ प्रतिशत मानिसले बिहान उठ्नबित्तिकै चुरोट खाने गरेको, र ७४ प्रतिशत सेवनकर्ताले चुरोट छाड्न कोशिस गरे पनि नसकिरहेको बताएका थिए ।

कार्यक्रममा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव डा.श्रीकृष्ण श्रेष्ठले सुर्तीजन्य पदार्थ उत्पादन गर्ने उद्योगले किशोर किशोरीलाई लत बसाल्नका लागि हुक्का, भेपजस्ता स्वादिलो र मिठास सुगन्ध आउने ‘फ्लेवर’ राखेर बिक्री गर्ने पाइएको बताए ।

उनले हाल किशोर किशोरीमा चुरोट, भेप र हुक्काको आकर्षण बढेकाले अभियान सञ्चालन गरेर रोक्नुपर्ने बताए । अतिरिक्त सचिव डा.श्रेष्ठले भेप र हुक्काजस्ता कुनै पनि हानिकारक पदार्थको सेवन नगर्नसमेत आग्रह गरे । उनले सुर्तीजन्य पदार्थको रोकथाम र नियन्त्रणका लागि कानुन कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *