‘काजी’ र ‘मितज्यू’ ले कति कमाए ?
काठमाडौं। अभिनेता विपिन कार्की र केकी अधिकारी अभिनीत फिल्म काजी ले घरेलु बक्स अफिसमा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेको देखिएको छ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको शनिबार राति १२ बजेसम्मको बक्स अफिस विवरणअनुसार ‘काजी’ले हालसम्म ४० लाख ८८ हजार १७५ रुपैयाँ ग्रस आम्दानी गरेको छ। फिल्मलाई यो अवधिसम्म १३ हजार ७ दर्शकले हेरेका छन्। चलचित्र गत जेठ ८ गते प्रदर्शनमा आएको थियो।
उही मितिमा रिलिज भएको मितज्यू भने बक्स अफिसमा बलियो देखिएको छ। बोर्डको तथ्यांकअनुसार फिल्मले हालसम्म १ करोड २० लाख ५९ हजार ८२ रुपैयाँ ग्रस कलेक्सन गरेको छ भने ४१ हजार २४८ दर्शकले फिल्म हेरेका छन्।
‘मितज्यू’मा दयाहाङ राई, सौगात मल्ल र टेरिया मगर लगायतका कलाकारको अभिनय रहेको छ।
बक्स अफिस तथ्यांकले रिलिजको सुरुआती चरणमै ‘मितज्यू’ले दर्शक आकर्षित गर्न सफल भएको देखाउँदा ‘काजी’ले भने अपेक्षित दर्शक संख्या जुटाउन संघर्ष गरिरहेको संकेत गरेको छ।
