जापानमा भालुको आतंक : चार जना घाइते
काठमाडौं । उत्तरपूर्वी जापानको फुकुसिमा शहरमा मंगलबार एक भालुले शृङ्खलाबद्ध आक्रमण गर्दा चार जना घाइते भएका छन्।
स्थानीय सञ्चारमाध्यमहरूका अनुसार आक्रमणमा परेका सबैलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।
स्थानीय समयअनुसार बिहान करिब ६:३० बजे एक निर्माण कम्पनीमा कार्यरत दुई पुरुष कर्मचारीमाथि भालुले अचानक आक्रमण गरेको थियो। घटनापछि भालु नजिकैको आवासीय क्षेत्रमा प्रवेश गरेको बताइएको छ।
प्रहरीका अनुसार त्यसपछि भालु एउटा घरभित्र पसेर ८० वर्षीया वृद्ध महिलामाथि आक्रमण गरेको थियो। लगत्तै अर्को कार्यालय भवनमा प्रवेश गरी ६० वर्षीय एक पुरुष कर्मचारीलाई समेत घाइते बनाएको जनाएको छ।
स्थानीय अधिकारीहरूका अनुसार गत सातादेखि नै फुकुसिमा आसपासका क्षेत्रमा भालु देखिने घटनाहरू बढेका थिए। आक्रमणमा संलग्न भालु अझै पनि सोही क्षेत्रमा सक्रिय रहेको विश्वास गरिएको छ।
बस्ती क्षेत्रमा भालुको उपस्थितिले थप जोखिम बढेको भन्दै स्थानीय प्रहरी र सम्बन्धित निकायहरूले भालुलाई नियन्त्रणमा लिन विशेष अभियान सञ्चालन गर्ने तयारी गरेका छन्। आवश्यक परे भालुलाई गोली हान्ने अनुमति दिने तथा प्रभावित क्षेत्रमा आपतकालीन सुरक्षा व्यवस्था लागू गर्ने विषयमा समेत छलफल भइरहेको बताइएको छ।
हाल स्थानीय प्रशासनले सर्वसाधारणलाई सतर्क रहन, एक्लै आवतजावत नगर्न र भालु देखिएमा तत्काल प्रहरीलाई खबर गर्न आग्रह गरेको छ।
