‘डन ३’ विवाद : रणवीरको प्रतिबन्ध फिर्ता
एजेन्सी। बलिउड फिल्मकर्मीहरूको संगठन ‘द फेडरेसन अफ वेस्ट इन्डिया सिने इम्प्लोयिज’ (एफडब्लुआईसीई) ले अभिनेता रणवीर सिंहविरुद्ध जारी गरेको ‘असहयोग निर्देशन’ एक सातापछि फिर्ता लिएको छ ।
यो निर्णय निर्देशक फरहान अख्तरको फिल्म ‘डन ३’ बाट रणवीर सिंह अन्तिम समयमा बाहिरिएपछि गरिएको थियो । त्यसपछि संगठनले उनीविरुद्ध असहयोगको निर्णय गरेको थियो ।
तर भारतीय मोशन पिक्चर प्रोड्युसर्स एसोसिएसन (आईएमपीपीए) र सिने एन्ड टिभी आर्टिस्ट्स एसोसिएसन (सिन्टा) लगायत अन्य फिल्म संस्थाहरूको आग्रहपछि उक्त निर्देशन फिर्ता लिइएको हो ।
संगठनका प्रमुख सल्लाहकार अशोक पण्डितले मुम्बईमा सञ्चारकर्मीसँग कुरा गर्दै अन्य फिल्म संस्थाबाट प्राप्त प्रतिक्रियापछि निर्णय पुनर्विचार गरिएको बताए ।
उनले भने, ‘हाम्रो अघिल्लो पत्रकार सम्मेलनपछि हामीले अन्य चलचित्र संस्थासँग सहयोग मागेका थियौं । आईएमपीपीए र प्रोड्युसर्स गिल्ड अफ इन्डियाबाट प्रतिक्रिया प्राप्त भयो ।’
प्रोड्युसर्स गिल्ड अफ इन्डियाले ‘डन ३’ बाट रणवीर सिंहको अन्तिम समयमा बाहिरिने निर्णयले निर्माण कम्पनी एक्सेल इन्टरटेन्मेन्टलाई क्षति पुगेको भए पनि समग्र फिल्म उद्योगको हितका लागि विवाद समाधान गर्नुपर्ने सुझाव दिएको थियो ।
त्यसपछि संगठनले रणवीर सिंहविरुद्धको असहयोग निर्देशन तत्काल प्रभावबाट फिर्ता लिएको घोषणा गरेको हो ।
पण्डितले रणवीर सिंह, एक्सेल इन्टरटेन्मेन्ट र सम्बन्धित पक्षहरूलाई एउटै टेबलमा बसेर मैत्रीपूर्ण ढंगले विवाद समाधान गर्न पनि आग्रह गरेका छन् ।
संगठनका अध्यक्ष बीएन तिवारीले आफूहरू कुनै दबाबमा नझुकेको स्पष्ट पार्दै उद्योगको हित र सहमतिको वातावरणका लागि मात्र निर्णय गरिएको बताए।
