‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता
झापा। प्रमुख नगदेबाली तथा निर्यातमुखी कृषि उत्पादन चियामा ‘लुपर’ नामक पात खाने किराको प्रकोप देखिएपछि चिया क्षेत्र पुनःसङ्कटमा परेको छ ।
गत वर्षदेखि देखिन थालेको यो किराको सङ्क्रमण यस वर्ष झनै व्यापक भएपछि किसान, बगान सञ्चालक र उद्योगी चिन्तित भएका छन् ।
विशेषगरी, हल्दीबारी गाउँपालिका, भद्रपुर नगरपालिका तथा आसपासका चिया उत्पादन क्षेत्रका बगानमा लुपर किराको सङ्क्रमण तीव्र रूपमा फैलिएको छ । किराले चियाका कोमल तथा हरिया पात मात्र नभई बोटको वृद्धि प्रणालीमै असर पुर्याउन थालेपछि उत्पादनमा ठूलो गिरावट आउने अनुमान गरिएको छ ।
चिया व्यवसायीहरूका अनुसार यस वर्ष झापाका धेरै बगानमा ५० प्रतिशतभन्दा बढी क्षति पुगेको हुनसक्ने प्रारम्भिक आकलन गरिएको छ । समयमै नियन्त्रण गर्न नसकिए चिया उद्योगको उत्पादन चक्र नै प्रभावित हुने अवस्था देखिएको कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टले बताउनुभयो ।
भद्रपुर–७ का चिया व्यवसायी शुक्र ढकालका अनुसार किसानबाट पर्याप्त मात्रामा हरियो पत्ती प्राप्त हुन नसकेपछि केही चिया प्रशोधन उद्योगले उत्पादन घटाएका छन् भने कतिपय उद्योग बन्द हुने अवस्थासम्म पुगेका छन् । उहाँका अनुसार किसान यस वर्षको पहिलो टिपाइदेखि नै राम्रो उत्पादनको आशामा थिए । पर्याप्त वर्षा भएका कारण उत्पादन बढ्ने र आम्दानीमा सुधार आउने अपेक्षा गरिएको थियो । तर, दोस्रो टिपाइ सुरु भएसँगै लुपर किराको प्रकोप व्यापक रूपमा फैलिँदा आशा निराशामा परिणत भएको छ ।
नेपालमा उत्पादन हुने कुल चियामध्ये सबैभन्दा ठूलो हिस्सा झापाबाट उत्पादन हुन्छ । झापालाई नेपाली चियाको राजधानीका रूपमा चिनिन्छ । जिल्लाका बिर्तामोड, अर्जुनधारा, हल्दीबारी, भद्रपुर, कचनकबल, बाह्रदसी, बुद्धशान्ति, मेचीनगरलगायत क्षेत्रमा हजारौँ हेक्टर जमिनमा चियाखेती भइरहेको छ ।
झापामा ठूला बगानसँगै ससाना किसान पनि चियाखेतीमा आबद्ध छन् । साना किसानले उत्पादन गरेको हरियो पत्ती स्थानीय प्रशोधन उद्योगमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका छन् । जिल्लामा दर्जनौँ चिया प्रशोधन उद्योग सञ्चालनमा छन् । चियाखेतीले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा हजारौँ श्रमिक, किसान तथा व्यवसायीको जीविकोपार्जन धानेको छ । विशेषगरी महिलाको रोजगारीको महत्त्वपूर्ण आधार चिया क्षेत्र नै हो ।
कृषि प्राविधिकहरूका अनुसार लुपर किराले चियाका कोमल पात खाएर बोटको प्रकाश संश्लेषण प्रक्रिया कमजोर बनाउँछ । पातमा रहेको हरितकण नष्ट हुँदा बोटको वृद्धि रोकिन्छ र दीर्घकालीन रूपमा बोट नै सुक्ने जोखिम बढ्छ ।
सामान्य अवस्थामा असार र साउन महिना हरियो पत्ती उत्पादनका दृष्टिले सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यही अवधिमा वार्षिक उत्पादनको ठूलो हिस्सा सङ्कलन हुने गर्दछ । तर यस वर्ष वैशाख–जेठदेखि नै सक्रिय भएको लुपर किराले उत्पादनको आधारभूत संरचनामै क्षति पुर्याएको किसानको गुनासो छ ।
गत वर्ष करिब ३० प्रतिशत क्षति पुर्याएको यो किराले यस वर्ष आधाभन्दा बढी बगान प्रभावित बनाएको अनुमान गरिएको छ । उत्पादन घटेसँगै किसानको आम्दानीमा प्रत्यक्ष असर परेको छ भने उद्योगको कच्चापदार्थ आपूर्तिमासमेत समस्या देखिएको छ ।
नेपालमा उत्पादित अर्थोडक्स चिया विश्वबजारमा गुणस्तरीय चियाका रूपमा चिनिन्छ । नेपाली चिया भारत, जर्मनी, अमेरिका, जापान, चीन, बेलायत, फ्रान्स, नेदरल्यान्ड्सलगायत मुलुकमा निर्यात हुँदै आएको छ । तर पछिल्ला वर्षमा निर्यात प्रक्रियामा देखिएका अवरोध, अन्तरराष्ट्रिय बजारको प्रतिस्पर्धा, उत्पादन लागतमा वृद्धि, रासायनिक मलको अभाव तथा रोगकिराको समस्या चिया क्षेत्रका मुख्य चुनौतीका रूपमा देखिएका छन् ।
उद्योगीका अनुसार उत्पादन घट्दै जाँदा निर्यात बजारमा नेपाली चियाको आपूर्ति निरन्तरता कायम राख्न कठिन हुने अवस्था सिर्जना हुन सक्छ । अन्तरराष्ट्रिय बजारमा एकपटक आपूर्ति कमजोर भए प्रतिस्पर्धी मुलुकले बजार ओगट्ने जोखिम रहने उनीहरूको भनाइ छ ।
झापाका सयौँ परिवारको आर्थिक जीवन चियामै निर्भर छ । साना किसानले दैनिक टिपेको हरियो पत्ती बिक्री गरेर घरखर्च चलाउने गरेका छन् । उत्पादन घट्दा उनीहरूको आम्दानीमा सिधा असर परेको छ । चिया उद्योगमा कार्यरत श्रमिकको रोजगारीसमेत प्रभावित हुने चिन्ता बढेको छ । उत्पादन घट्दै गए उद्योगले कामदार सङ्ख्या कटौती गर्नुपर्ने अवस्था आउनसक्ने उद्योगीको भनाइ छ । किसानका अनुसार लगातार दुई वर्ष रोगकिराको प्रकोप दोहोरिँदा चिया खेतीप्रतिको आकर्षण घट्न थालेको छ । उत्पादन लागत बढ्दै जाँदा आम्दानी भने घटिरहेको उनीहरूको गुनासो छ ।
चिया निर्यात प्रभावित
नेपाली चियाको प्रमुख बजार भारततर्फको निर्यात पुनः प्रभावित भएको छ । भारतीय पक्षले गुणस्तर परीक्षण प्रक्रियामा कडाइ गरेपछि एक सातायता चिया निकासी प्रभावित भएको हो ।
भारतको चिया बोर्डले नेपालबाट निर्यात हुने चियामा अनिवार्य प्रयोगशाला परीक्षणको व्यवस्था लागू गरेपछि गत वैशाख १८ गतेदेखि करिब २१ दिनसम्म चिया निकासी अवरुद्ध भएको थियो । पछि भारतीय पक्षले प्रत्येक खेपको परीक्षण नगरी नमुनाका आधारमा मात्रै परीक्षण गर्ने व्यवस्था लागू गरेपछि निर्यात पुनः सुरु भएको थियो । तर अहिले भारतीय आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका प्रत्येक बोराबाट नमुना सङ्कलन गरी प्रयोगशाला परीक्षणका लागि पठाउने र प्रतिवेदन नआएसम्म बिक्रीवितरण नगर्न निर्देशन दिइएपछि व्यवसायीहरू पुनः समस्यामा परेका छन् ।
नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष आदित्य पराजुलीले सीमावर्ती भन्सार नाकामा समस्या नरहे पनि भारतभित्र प्रवेश गरिसकेपछि चिया रोकिएको बताउनुभयो । उहाँका अनुसार कोलकातास्थित आयातकर्ताका गोदाममा पुगेका नेपाली चियाका धेरै खेप परीक्षण प्रक्रियाका कारण रोकिएका छन् ।
“आयातकर्ताको गोदाममा पुगेपछि प्रत्येक बोराबाट नमुना सङ्कलन गरेर प्रयोगशालामा पठाउने गरिएको छ । प्रतिवेदन नआएसम्म बिक्री गर्न नपाइने व्यवस्था भएपछि व्यवसायीहरूले नयाँ निकासी प्रक्रिया अघि बढाउन सकेका छैनन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार हाल कोलकातामा करिब ५० हजार किलोग्राम नेपाली चिया रोकिएको छ । केही ट्रकको परीक्षण प्रतिवेदन प्राप्त भए पनि अधिकांश खेपको प्रतिवेदन आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।
यसअघि भारतीय चिया बोर्डले आयातकर्तालाई चिया भारत पुग्नुअघि नै सम्बन्धित पोर्टलमा विस्तृत विवरण दर्ता गर्नुपर्ने व्यवस्था लागू गरेको थियो । चिया आउने मिति, गोदामको स्थान, कन्टेनर विवरण तथा ‘प्रोफर्मा इनभ्वाइस’ पेस गरेपछि मात्र अस्थायी स्वीकृति पत्र प्राप्त हुने प्रावधानले पनि नेपाली निर्यातकर्तालाई थप झन्झट व्यहोर्नुपरेको थियो ।
सरकारी तथ्याङ्कअनुसार नेपालमा वार्षिक करिब दुई करोड ६० लाख किलोग्राम चिया उत्पादन हुन्छ । उत्पादनमध्ये अधिकांश अर्थोडक्स चिया निर्यात हुने गरेको छ । नेपाली चियाको निर्यातमध्ये ८० देखि ९० प्रतिशत हिस्सा भारतीय बजारमा निर्भर रहेकाले त्यहाँको नीतिगत परिवर्तनले नेपाली किसान, उद्योगी र निर्यात व्यवसायीलाई प्रत्यक्ष असर गर्ने गरेको छ ।
