रवि आउँदै, शिशिर जाँदै
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल आजदेखि भारतको औपचारिक भ्रमणमा जाने भएका छन्। भारतीय विदेशमन्त्री डा. एस. जयशंकरको मैत्रीपूर्ण निमन्त्रणामा हुन लागेको भ्रमण आइतबारसम्म चल्नेछ।
परराष्ट्र मन्त्रालयले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा मन्त्री खनालले नयाँ दिल्लीमा भारतीय विदेशमन्त्री जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ। भेटमा व्यापार, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा जनस्तरका सम्बन्धलगायत नेपाल–भारत सम्बन्धका विविध पक्षमा छलफल हुने जनाइएको छ।
मन्त्रालयका अनुसार उच्चस्तरीय भ्रमणको नियमित आदानप्रदानअन्तर्गत हुन लागेको यो भ्रमणले दुई देशबीचको दीर्घकालीन तथा बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउन योगदान पुग्ने अपेक्षा गरिएको छ। मन्त्री खनाल जेठ २४ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।
यसैबीच, मन्त्री खनालले सरकार सुशासन र तीव्र आर्थिक विकासको लक्ष्यसहित अघि बढिरहेको बताएका छन्। नागरिकको परिवर्तनप्रतिको अपेक्षा बढ्दै गएको उल्लेख गर्दै उनले ती आकांक्षा पूरा गर्न सरकार, निजी क्षेत्र, विकास साझेदार तथा अन्य सरोकारवालाबीच प्रभावकारी सहकार्य आवश्यक रहेको बताए।
उनले क्षेत्रीय तथा बहुपक्षीय मञ्चहरूमा नेपालको आवाज र प्राथमिकतालाई प्रभावकारी रूपमा उठाइरहेको उल्लेख गर्दै विकास साझेदारीलाई अझ व्यवस्थित र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए। स्थानीय सरकारलाई बलियो बनाउनु नै विकासका कार्यक्रम तथा सामाजिक क्षेत्रका गतिविधिलाई प्रभावकारी बनाउने आधार भएको उनको भनाइ थियो।
उता, भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भने पाँचदिने भ्रमण सम्पन्न गरी आज स्वदेश फर्किने भएका छन्।
