इसराइल-लेबनान युद्धविराममा हिजबुल्लाहको असहमति
काठमाडौं । अमेरिका, इसराइल र लेबननबीच भएको पूर्ण युद्धविराम सम्झौतामा हिजबुल्लाहले असहमति जनाएपछि यसको कार्यान्वयनमाथि प्रश्न उठेको छ।
अमेरिकी अनलाइन समाचारमाध्यम एक्सियसका अनुसार प्रारम्भिक रूपमा युद्धविरामप्रति सकारात्मक संकेत दिएको हिजबुल्लाहले बिहीबार सम्झौताका मुख्य सर्तहरू अस्वीकार गरेको हो।
अमेरिका, इसराइल र लेबननले बुधबार संयुक्त वक्तव्य जारी गर्दै हिजबुल्लाहले दक्षिणी लेबननको लिटानी नदीको दक्षिण क्षेत्रबाट आफ्ना लडाकु हटाउने र इसराइलमाथिका आक्रमण रोक्ने सर्तमा पूर्ण युद्धविराममा सहमति भएको घोषणा गरेका थिए।
तर हिजबुल्लाहले उक्त व्यवस्थालाई अस्वीकार गरेपछि सम्झौता व्यवहारमा कार्यान्वयन हुने वा नहुने विषयमा अन्योल बढेको एक्सियसले जनाएको छ।
यो युद्धविराम सफल भए अमेरिका र इरानबीच जारी तनाव कम हुने तथा सम्भावित सहमतिका लागि वातावरण बन्ने अपेक्षा गरिएको थियो। इरानले अमेरिकासँग हुने कुनै पनि सम्झौताका लागि इसराइल–लेबनन युद्धको अन्त्यलाई महत्त्वपूर्ण सर्तका रूपमा अघि सार्दै आएको छ।
हिजबुल्लाहका महासचिव नइम कासेमले सम्झौताप्रति असन्तुष्टि व्यक्त गर्दै यसलाई ‘लेबननका जनताको एक हिस्सालाई समाप्त पार्ने मार्गचित्र’को संज्ञा दिएका छन्।
उनले दक्षिणी लेबननबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता नभएसम्म कुनै पनि युद्धविराम स्वीकार्य नहुने स्पष्ट पारे। साथै, इजरायली आक्रमण जारी रहे प्रतिरोधात्मक कारबाही पनि जारी रहने चेतावनी दिएका छन्।
‘हाम्रा गाउँहरूमा बमबारी भइरहँदा र जनता मारिइरहँदा उत्तरी इसराइल सुरक्षित रहँदैन,’ कासेमलाई उद्धृत गर्दै एक्सियसले उल्लेख गरेको छ।
सम्झौताअनुसार दक्षिणी लेबननमा ‘पाइलट जोन’ स्थापना गर्ने र उक्त क्षेत्रमा लेबननी सेनाले पूर्ण नियन्त्रण लिने व्यवस्था गरिएको छ। त्यहाँ हिजबुल्लाहको सैन्य उपस्थिति नरहने सुनिश्चित गरिनेछ भने बदलामा इजरायली सेना पनि क्षेत्रबाट फिर्ता हुने सहमति भएको थियो।
संयुक्त वक्तव्यमा इसराइल र लेबननले एकअर्काविरुद्ध शत्रुतापूर्ण उद्देश्य नरहेको दोहोर्याउँदै बाँकी विवाद समाधान तथा दीर्घकालीन समझदारीका लागि प्रत्यक्ष वार्ता जारी राख्ने प्रतिबद्धता जनाएका छन्। अर्को चरणको वार्ता जुन २२ मा अमेरिकाको वासिङ्टन डीसीमा हुने तय गरिएको छ।
फेब्रुअरी अन्त्यमा अमेरिका र इसराइलले इरानमाथि गरेको आक्रमणपछि हिजबुल्लाहले इसराइलतर्फ रकेट प्रहार गरेको थियो। त्यसपछि इसराइलले मार्च महिनामा लेबननभित्र सैन्य कारबाही विस्तार गरेको थियो।
यसैक्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दबाबपछि हिजबुल्लाह र इसराइलबीच मंगलबार आंशिक युद्धविराम घोषणा गरिएको थियो। ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूसँग टेलिफोन संवाद गर्दै लेबननमा जारी आक्रमण रोक्न आग्रह गरेपछि इसराइलले बेरूतमाथि योजना बनाइएको थप आक्रमण स्थगित गरेको बताइएको छ।
त्यसपछि सुरु भएको युद्धविराम प्रयास अहिले पूर्ण युद्धविरामको सहमतिसम्म पुगेको भए पनि हिजबुल्लाहको असहमतिले यसको भविष्य अनिश्चित बनेको छ।
