निखिलसँग सञ्जय दत्तको स्क्रिन सेयर ?
काठमाडौं । अभिनेता निखिल उप्रेतीको निर्देशनमा बनेको फिल्म ‘आचार्य’ आगामी साउन २८ गते प्रदर्शनमा आउने तयारीमा रहेको छ।
अभिनेत्री सञ्चिता लुइँटेल निर्माता रहेको यो फिल्ममा निखिल उप्रेती नै प्रमुख भूमिकामा देखिने भएका छन्।
फिल्मको निर्देशनसमेत निखिल उप्रेतीले नै गरेका हुन्। प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमसँगै दर्शकहरू पनि उत्साहित रहेको बताइएको छ। निखिलको फरक र बलियो एक्सन शैली यस फिल्ममा देख्न पाइने भएकाले दर्शकको कौतूहलता बढेको निर्माण पक्षको दाबी छ।
यसैबीच, फिल्ममा बलिउड अभिनेता सञ्जय दत्तको पनि उपस्थिति रहने चर्चा लामो समयदेखि चल्दै आएको छ। हाल प्राप्त जानकारी अनुसार सञ्जय दत्त फिल्मको एक गीतमा देखिने पक्का भएको बताइएको छ।
निर्माण टिमका अनुसार उक्त गीतको छायांकन अझै बाँकी रहेको छ, जसका लागि टिमले तयारी गरिरहेको छ। सोही क्रममा फिल्मको गीत सुटिङका लागि टोली दुबई जाने तयारीमा रहेको बताइएको छ।
कलाकर्मी स्रोतका अनुसार ‘आचार्य’ टिम यही मंगलबार अर्थात जेठ २६ गते दुबई प्रस्थान गर्नेछ। सञ्जय दत्तले दुबईमै टिमलाई भेटेर उक्त गीतको छायांकनमा सहभागिता जनाउने सम्भावना रहेको जनाइएको छ।
लामो समयपछि निखिल उप्रेती निर्देशनमा फर्किनु र बलिउड स्टार सञ्जय दत्तको समेत संलग्नता हुने चर्चाले फिल्मप्रति दर्शकको उत्साह अझ बढेको देखिन्छ।
