प्रधानमन्त्री हो कि विदेशी दलाल भन्दै श्रम संस्कृति पार्टीको आन्दोलन (तस्बिरहरू)
काठमाडौं । श्रम संस्कृति पार्टीले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिको विरोध गर्दै शनिबार माइतीघर मण्डलामा प्रदर्शन गरेको छ।
प्रदर्शनकारीहरूले ‘प्रधानमन्त्री हो कि विदेशी दलाल ?’ लगायतका नारा लगाउँदै सरकारको आलोचना गरेका थिए। उनीहरूले प्रधानमन्त्रीको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमान र जनभावनामा चोट पुगेको दाबी गर्दै उक्त अभिव्यक्ति तत्काल फिर्ता लिन र सार्वजनिक रूपमा माफी माग्न माग गरेका छन्।
प्रदर्शनका क्रममा सहभागीहरूले प्लेकार्ड र ब्यानर बोकेर सरकारविरुद्ध नाराबाजी गरेका थिए। श्रम संस्कृति पार्टीका नेताहरूले प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे स्पष्ट धारणा सार्वजनिक गर्नुपर्ने र विवादास्पद भनाइप्रति जिम्मेवारी लिनुपर्ने बताएका छन्।
पार्टीले प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याएर जनतासमक्ष क्षमायाचना नगरे थप आन्दोलनका कार्यक्रम घोषणा गर्ने चेतावनी पनि दिएको छ।
प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको थियो। आन्दोलनका तस्बिरहरू नेपाल फोटो लाइब्रेरीले सार्वजनिक गरेको छ।









