`

शिल्पाले फर्जी यौन दुर्व्यवहारको आरोप स्वीकारेपछि…

Nepal One HD २४ जेठ २०८३ १४:११
चलचित्र

एजेन्सी। भारतीय टेलिभिजन सिरियल ‘भाभी जी घर पर है’ की चर्चित अभिनेत्री शिल्पा शिन्देले दिएको एक पुरानो बयान फेरि सार्वजनिक भएपछि ठूलो विवाद उत्पन्न भएको छ।

भारतीय मिडियाका अनुसार अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीससँग घटनामा हस्तक्षेप गर्दै कानुनी कारबाहीको माग गरेको छ।

विवादको मूल कारण शिल्पा शिन्देले कमेडियन भारती सिंहसँगको एक अन्तर्वार्तामा दिएको टिप्पणी हो। उक्त अन्तर्वार्तामा उनले टेलिभिजन शो ‘भाभीजी घर पर हैं’ का निर्माताविरुद्ध आफूले यौन उत्पीडनसम्बन्धी झुटो मुद्दा दर्ता गराएको स्वीकार गरेको दाबी गरिएको छ। साथै उनले त्यो मुद्दा मुख्यतः सम्झौता (कन्ट्र्याक्ट) सम्बन्धी विवादसँग जोडिएको पनि बताएकी थिइन्।

यो अभिव्यक्तिपछि विभिन्न कलाकार संघ र सामाजिक संगठनहरूले कडा प्रतिक्रिया जनाएका छन्। अखिल भारतीय सिने वर्कर्स एसोसिएसनले जारी गरेको विज्ञप्तिमा यौन उत्पीडनजस्ता गम्भीर आरोपलाई झुटो रूपमा प्रयोग गर्नु आपत्तिजनक रहेको उल्लेख छ।

संगठनका अनुसार यस्ता घटनाले वास्तविक पीडितहरूको आवाज कमजोर बनाउने र न्याय प्रक्रियामा गम्भीर असर पार्ने खतरा हुन्छ।

सामाजिक सञ्जालमा आलोचना बढेपछि शिल्पा शिन्देले इन्स्टाग्राममार्फत प्रतिक्रिया दिँदै आलोचकहरूलाई लक्षित गर्दै ‘डाह गर्नेहरू डाह गरिरहून्’ भन्ने खालको टिप्पणी गरेकी छिन्, जसले विवादलाई अझ चर्काएको छ।

शिल्पा शिन्दे सन् २०१५ मा प्रसारित लोकप्रिय सिरियल ‘भाभीजी घर पर हैं’ मा ‘अंगुरी भाभी’को भूमिकाबाट चर्चामा आएकी थिइन्। तर एक वर्षपछि उनले शो छोड्दै निर्माताविरुद्ध गम्भीर आरोप लगाउँदै कानुनी विवादमा उत्रिएकी थिइन्।

हालैको पोडकास्टमा उनले दिएको अभिव्यक्तिमा भने उनले आफूलाई त्यसबेला परिस्थितिजन्य कारणले मुद्दा दर्ता गर्न बाध्य भएको दाबी गरेकी छन्। उनले भनेकी छन् कि सम्झौता विवाद समाधानका लागि कानुनी बाटो रोजिएको थियो र पछि आपसी समझदारीमा विवाद समाधान गरिएको थियो।

यसैबीच, कलाकार संघहरूले यस्ता संवेदनशील विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने भन्दै कडा निगरानीको माग गरेका छन्। विवाद अझै चर्किने संकेत देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *