`

सुलिभानमाथि यौन शोषणको आरोप

Nepal One HD २६ जेठ २०८३ १५:५४
प्रमुख खबर

एजेन्सी। इङ्ग्लिस फुटबल क्लब वेस्ट ह्याम युनाइटेडका सह-मालिक तथा अर्बपति व्यवसायी डेभिड सुलिभान डेभिड सुलिभानमाथि आफ्नो प्रभाव र शक्तिको दुरुपयोग गर्दै वर्षौँसम्म महिलामाथि यौन शोषण गरेको आरोप सार्वजनिक भएको छ।

केही आरोपमा पीडित भनिएका महिलाहरू घटनाको समयमा किशोरी अवस्थामै रहेको दाबीसमेत गरिएको छ।

बीबीसीको प्यानोरमा कार्यक्रम र द टाइम्सको संयुक्त अनुसन्धानले सात महिलाका बयान सार्वजनिक गरेको हो। अनुसन्धानअनुसार ती घटनाहरू सन् १९८० को दशकदेखि विभिन्न समयमा भएका थिए। आरोप लगाउने अधिकांश महिलाहरू त्यतिबेला किशोरी वा २० वर्षको आसपासका थिए र सुलिभानसँग सम्बन्धित डेली स्पोर्ट तथा सन्डे स्पोर्ट प्रकाशनमा काम वा मोडलिङ अवसर खोजिरहेका थिए।

महिलाहरूले सुलिभानले व्यावसायिक अवसरको प्रलोभन देखाएर यौन सम्बन्धका लागि दबाब दिएको आरोप लगाएका छन्। केहीले करियरमा सहयोग गर्ने आश्वासन दिँदै यौन सम्पर्कका लागि बाध्य पारिएको दाबी गरेका छन् भने एक महिलाले आफूले अस्वीकार गर्दागर्दै पनि यौन सम्बन्ध राख्न बाध्य पारिएको आरोप लगाएकी छन्।

७७ वर्षीय सुलिभानले भने सबै आरोपलाई पूर्ण रूपमा अस्वीकार गरेका छन्। उनका अनुसार सार्वजनिक गरिएका आरोपहरू दशकौँ पुराना, आधारहीन र सत्यतथ्यविहीन छन्। उनले आफूविरुद्ध लगाइएका आरोपको कानुनी रूपमा प्रतिवाद गर्ने तयारी गरिरहेको पनि जनाएका छन्।

अनुसन्धान सार्वजनिक हुनुअघि नै सुलिभानले वेस्ट ह्यामको सह–अध्यक्ष पदबाट राजीनामा दिएका थिए। यद्यपि उनले आरोपहरूलाई असत्य भन्दै आफूलाई सञ्चारमाध्यमहरूले गलत रूपमा प्रस्तुत गरेको दाबी गरेका छन्।

अनुसन्धानमा सन् १९९० को दशकमा १६ वा १७ वर्षकी किशोरीसँग यौन सम्बन्धका लागि पैसा तिरेको कुरा सुलिभानले स्वीकार गरेको उल्लेख गरिएको छ। यद्यपि त्यतिबेला यस्तो कार्य कानुनी अपराधको दायरामा नपरेको र सन् २००३ पछि मात्र त्यस्तो गतिविधि गैरकानुनी मानिएको उल्लेख गरिएको छ।

‘फ्लोरेन्स’ नामबाट चिनाइएकी एक महिलाले सुलिभानसँगको भेटका क्रममा नियमित कामको आश्वासन दिँदै यौन सम्बन्धका लागि दबाब दिइएको दाबी गरेकी छन्। उनका अनुसार डर र पेशागत दबाबका कारण आफूले नचाहँदा पनि सम्बन्ध राख्नुपरेको थियो। सुलिभान पक्षका कानुनी प्रतिनिधिहरूले भने उक्त दाबीलाई अविश्वसनीय भनेका छन्।

अन्य महिलाहरूले पनि करियर समाप्त हुने डर, दबाब र प्रभावका कारण आफूहरू असहज परिस्थितिमा परेको बताएका छन्। एक महिलाले सुलिभानले आफूलाई कोठाभित्र थुनेर बाहिर जान नदिएको आरोपसमेत लगाएकी छन्।

बीबीसी र द टाइम्सले केही घटनाका विवरण डायरी, प्रहरी अभिलेख तथा परिवार र साथीभाइका बयानमार्फत पुष्टि गरेको दाबी गरेका छन्। अनुसन्धानअनुसार कम्तीमा आठ महिलाले विभिन्न समयमा प्रहरीलाई सुलिभानको व्यवहारबारे जानकारी दिएका थिए।

यद्यपि हालसम्म सुलिभानविरुद्ध कुनै आपराधिक अभियोग दायर भएको छैन। सन् २०२३ मा एक महिलाले एसेक्स प्रहरीमा उजुरी दिए पनि पर्याप्त प्रमाण नभएको भन्दै थप कारबाही अघि बढाइएको थिएन। सुलिभान सन् २००८ मा यौन हिंसासम्बन्धी आरोपमा पक्राउ परेका थिए, तर त्यतिबेला पनि उनीमाथि अभियोग लगाइएको थिएन।

यो प्रकरण सार्वजनिक भएपछि फुटबल प्रशासन र क्लब स्वामित्वमा नैतिकता, पारदर्शिता तथा उत्तरदायित्वका विषय फेरि बहसको केन्द्रमा आएका छन्। फुटबल नियामक निकायहरूले घटनाक्रमलाई नजिकबाट हेरिरहेको जनाइएको छ भने वेस्ट ह्याम युनाइटेडले आफूहरू कडा सुरक्षा तथा आचारनीति पालना गर्ने बताउँदै व्यक्तिगत आरोपबारे टिप्पणी गर्न अस्वीकार गरेको छ।

सुलिभानले भने आरोपहरू झुटा भएको दोहोर्‍याउँदै बीबीसीविरुद्ध कानुनी कदम चाल्ने चेतावनी दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *