`

बालेनलाई झकझक्याउँदै संसदमा गुञ्जियो उर्मिलाको कविता

Nepal One HD २८ जेठ २०८३ १३:१५
प्रमुख खबर

काठमाडौं। नेपाली कांग्रेसकी सांसद सिता थपलिया (उर्मिला) ले प्रधानमन्त्री वालेन्द्र शाह(बालेन)ले जेठ १७ गते प्रतिनिधिसभामा दिएको सीमासम्बन्धी अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले दिएको प्रष्टीकरण चित्तबुझ्दो नभएको बताएकी छन्।

बिहीबारको प्रतिनिधिसभा बैठकमा उनले परराष्ट्रमन्त्री खनालको जवाफप्रति असन्तुष्टि जनाउँदै आपत्ति प्रकट गरिन्।

सांसद थपलियाले सरकारले दिएको प्रष्टीकरण पर्याप्त नभएको भन्दै संसदमा ‘देश बिर्सिएको दिन’ शीर्षकको कविता पनि सुनाएकी थिइन्।

उनको कवितामार्फत उनले राष्ट्रिय सीमा र सार्वभौमिकतासम्बन्धी विषयमा सरकार गम्भीर हुनुपर्ने सन्देश दिएको बताइएको छ।

उनको कविता जस्ताको त्यस्तै:

देश बिर्सिएको दिन
तिमीले देश बनाउँछु भन्यौ
म ढुक्क थिएँ
तर एकाएक
तिम्रो बोलीको प्रतिध्वनि पनि नमेटिँदै
आफ्नै आमाको
अस्मितामाथि औँला उठायौ !

माटो छोएर कसम खायौ
तर
त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ
अनि आमाको महिमा गाइरह्यौ
तर सन्तान हुनुको कर्तव्य भुल्यौ
काख र कोखको माया बिर्सियौ !

त्यसैले आज म ढुक्क होइन
मेरो मन देशको चिन्ताले
ढुकढुक भइरहेको छ ।

स्वार्थले प्रेरित भएपछि
सायद धेरै कुरा बिर्सन सकौला
तर नबिर्स
तिमीमाथि असीम भरोसा बोकेर
मतको भारी बिसाउने जनतालाई नबिर्स
जनता उभिएको माटोलाई नबिर्स
तिमीलाई आशीर्वाद दिने
ती बा–आमालाई नबिर्स !

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने
एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ
र जुन दिन देश बिर्सिन्छौ
त्यो दिन
तिमी कसको शासक बन्नेछौ ?
भन
त्यो दिन तिमी
कसको शासक बन्नेछौ ?


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *