हर्कले खोजे रक्षामन्त्री(भिडियो)
काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले नवलपरासीको सुस्ता क्षेत्रमा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले स्थानीय नेपाली नागरिकलाई धाकधम्की दिएको आरोप लगाउँदै संसदमा रक्षामन्त्रीको उपस्थितिको माग गरेका छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै साम्पाङले सभामुखमार्फत रक्षामन्त्रीलाई संसदमा उपस्थित गराई उक्त विषयमा स्पष्ट जवाफ दिन आग्रह गरे। प्रधानमन्त्रीले सीमासम्बन्धी दिएको विवादास्पद अभिव्यक्तिको विरोधमा आफूहरूले लगातार ११ दिनसम्म संसदमा प्लेकार्ड प्रदर्शन गरे पनि सरकारबाट कुनै प्रतिक्रिया नआएको उनले बताए।
संसदमा बोल्दै साम्पाङले सुस्तामा एसएसबीका जवानहरूले स्थानीयवासीमाथि दबाब सिर्जना गरेको र त्यसविरुद्ध स्थानीयहरू प्रतिरोधमा उत्रिएको देखिने भिडियो सार्वजनिक भएको उल्लेख गरे। उनले सीमावर्ती क्षेत्रमा नेपाली सेनाको उपस्थितिबारे पनि प्रश्न उठाउँदै सरकारको धारणा माग गरे।
‘प्रधानमन्त्री आउनुहुन्न भने नेपाल सरकारका रक्षामन्त्रीलाई नै संसदमा ल्याइयोस्,’ उनले भने, ‘सुस्तामा भारतीय सुरक्षा बलले नेपाली दाजुभाइलाई हप्कीदप्की गरेको र स्थानीयहरू आफ्नो भूमिको रक्षा गर्न संघर्ष गरिरहेको भिडियो सार्वजनिक भएको छ। नेपाली सेना सीमामा अवलोकनका लागि समेत जान नपाउने कुनै सम्झौता भएको हो भने त्यसबारे जानकारी गराइयोस्। सार्वभौम सांसदका रूपमा हामी सत्यतथ्य जान्न चाहन्छौँ।’
साम्पाङले सभामुखसँग रुलिङमार्फत रक्षामन्त्रीलाई संसदमा उपस्थित गराउन आग्रह गरेका थिए। हाल रक्षामन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्री बालेन्द्र शाहले नै सम्हालिरहेका छन्।
