मनोमानी औषधी बेच्दै हिड्ने चार जना पक्राउ
काभ्रेपलाञ्चोक । काभ्रेको बनेपामा चिकित्सकको सिफारिस (प्रेस्क्रिप्सन) बिना औषधि बिक्री–वितरण गरेको आरोपमा दुई औषधि पसलका सञ्चालकसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार बनेपा नगरपालिका–७ चारदोबाटोस्थित नातीकाजी प्लाजामा रहेका दुई फार्मेसीमा अनुगमन गर्दा चिकित्सकको सिफारिसबिना औषधि बिक्री भइरहेको फेला परेको हो।
प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार पक्राउ पर्नेमा सूर्यविनायक नगरपालिका–५, भक्तपुरका ५० वर्षीय बरदाराम भैल (शुभम फार्म सञ्चालक) र महांकाल गाउँपालिका–५, ललितपुरका ३३ वर्षीय विनोद बञ्जारा (मेडी सेवा फार्म सञ्चालक) रहेका छन्।
त्यस्तै, अवैध रूपमा औषधि खरिद गर्ने दुई जना ग्राहकलाई पनि नियन्त्रणमा लिइएको छ। पनौती नगरपालिका–७ का २२ वर्षीय सागर आले मगर र धुलिखेल नगरपालिका–७ का २६ वर्षीय सुनिल थामी पक्राउ परेका हुन्।
अनुगमनका क्रममा शुभम फार्मबाट स्पास्पेन नामक ३१२ चक्की र पिगेरोन १५० नामक २१ चक्की बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै, मेडी सेवा फार्मबाट एन्टिकफ ८५ चक्की, डाइक्लोमिन २० का १२० चक्की, मेगालिन १५० का १०० चक्की र गाबावेल १५० का १५ चक्की बरामद गरिएको छ।
खरिदकर्ताहरूको साथबाट समेत केही औषधि बरामद गरिएको छ। सागर आले मगरको साथबाट पिगेरोन चार चक्की र सुनिल थामीको साथबाट गाबावेल १५० का १० चक्की फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूलाई बरामद औषधिसहित आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि औषधि व्यवस्था विभाग, काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको छ।
