परराष्ट्र मन्त्री खनाल जेठ ३१ गते चीन जाने
काठमाडाैं। परराष्ट्रमन्त्री शिशिर खनाल जेठ ३१ गतेदेखि चीनको औपचारिक भ्रमणमा जाने भएका छन्।
परराष्ट्र मन्त्रालयले शुक्रबार जारी गरेको प्रेस नोटअनुसार मन्त्री खनालको भ्रमण जेठ ३१ गतेदेखि असार ३ गतेसम्मका लागि तय भएको हो। उनी चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणामा चीन जान लागेका हुन्।
भ्रमणका क्रममा मन्त्री खनालले बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग द्विपक्षीय वार्ता गर्नेछन्। वार्तामा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउने तथा आपसी हितका विषयमा सहकार्य विस्तार गर्ने विषयमा छलफल हुने मन्त्रालयले जनाएको छ। साथै, उनले चीनका अन्य उच्चस्तरीय पदाधिकारीसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।
मन्त्री खनालले चीनमा आयोजना हुने इन्भेष्टमेन्ट कन्फरेन्समा समेत सहभागिता जनाउनेछन्, जहाँ उनले नेपाली दूतावासद्वारा आयोजित कार्यक्रममार्फत चिनियाँ व्यवसायी समुदायसँग लगानीसम्बन्धी छलफल गर्नेछन्।
उनी असार ३ गते स्वदेश फर्किने कार्यक्रम छ।
