‘आमा बाँच्नुपर्यो’
आमा हाँस्नुपर्यो मुसुक्क सहजै खोली हियो पूर्ण नै
आमा हिँड्नुपर्यो विकास पथमा झुल्के उषा घाम भै
आमा सिँच्नुपर्यो सुधा सलिलले सुक्खा र बाँझो सबै
आमा भर्नुपर्यो अनाज धनले रित्ता भकारी सबै ।।१।।
आमा बग्नुपर्यो नदी सललझैँ आफ्नै बडो वेगमा
आमा गुँज्नुपर्यो अनाद ध्वनिझैँ आफ्नै मिठो तालमा
आमा देख्नुपर्यो हरेक जनले यै देशको भूमिमा
आमा बोक्नुपर्यो हरेक मनुले सत्कर्मकाे काममा ।।२।।
आमा खुल्नुपर्यो खुलस्त जसरी सर्वत्र आकाशमा
आमा राख्नुपर्यो प्रत्येक दिलले प्रेमालु आभासमा
आमा पुग्नुपर्यो हिमाल शिरको सर्वोच्च त्यो ठाउँमा
आमा बोल्नुपर्यो हरेक जनले यो देशको नाउँमा ।।३।।
आमा जोड्नुपर्यो अखण्डित भई भूभाग सञ्जालको
आमा कोर्नुपर्यो सपाङ्ग तनको भूचित्र नेपालको
आमा बुझ्नुपर्यो अमूल्य दुधको भारा सुधा सार जो
आमा ढोग्नुपर्यो पुजेर धरणी यो सृष्टि संसारको ।।४।।
आमा भज्नुपर्यो विशेष धुनमा वीणा जसै गुञ्जन
आमा पोत्नुपर्यो हरेक घरमा यो विश्वमा चम्कन
आमा झुम्नुपर्यो छरेर जगमा सद्-भावको सौरभ
आमा लेख्नुपर्यो पढेर धरती नेपालको गौरव ।।५।।
आमा फुल्नुपर्यो सुगन्धित भई सिङ्गो बगैँचा बनी
आमा रोप्नुपर्यो हरेक मनुले सम्झेर सञ्जीवनी
आमा उठ्नुपर्यो सहर्ष जगमा निर्भीक चेली बनी
आमा बाँच्नुपर्यो निरोग तनले सम्पूर्ण पूरा जुनी ।।६।।
[छन्द: शार्दूलविक्रीडित]
