`

काठमाडाैंमा चिनियाँ चलचित्र महोत्सव

Nepal One HD ३१ जेठ २०८३ ११:३२
चलचित्र

काठमाडौं।  बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवअन्तर्गतको ‘तियानतान अवार्ड प्यानोरामा’ कार्यक्रम काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म चलेको यस कार्यक्रममा बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा उत्कृष्ट ठहरिएका तथा प्रतिस्पर्धामा सहभागी भएका ६ चिनियाँ चलचित्र प्रदर्शन गरिएको थियो।

ठमेलस्थित छाया सेन्टरमा आयोजित महोत्सव चीन चलचित्र प्रशासन र बेइजिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आयोजक समितिको सचिवालयले नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानसँगको सहकार्यमा आयोजना गरेको थियो। कार्यक्रममा नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्र, काठमाडौँ विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युट तथा त्रिभुवन विश्वविद्यालयको कन्फ्युशियस इन्स्टिच्युटले पनि सहयोग गरेका थिए।

आयोजकका अनुसार तीन दिनमा सञ्चालन भएका ९ वटा शोमा करिब १ हजार ४ सय दर्शकले सहभागिता जनाएका थिए। प्रदर्शन गरिएका चलचित्रप्रति दर्शकको सकारात्मक प्रतिक्रिया प्राप्त भएको र यस्ता चिनियाँ फिल्महरू नेपालमा नियमित व्यावसायिक रूपमा प्रदर्शन हुनुपर्ने अपेक्षा समेत व्यक्त गरिएको छ।

नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले कार्यक्रमले नेपाल र चीनबीचको चलचित्र आदानप्रदानलाई नयाँ उचाइमा पुर्‍याएको बताए। उनका अनुसार चिनियाँ चलचित्रहरू नेपाली बजारमा र नेपाली चलचित्रहरू चिनियाँ बजारमा प्रवेश गर्ने वातावरण निर्माण गर्न यस्ता कार्यक्रम महत्वपूर्ण माध्यम बन्न सक्छन्।

महोत्सवको उद्घाटन चलचित्र ‘ट्र्याप्ड’ प्रदर्शनअघि नेपालका लागि चिनियाँ दूतावासका डेपुटी चिफ अफ मिसन तथा मिनिस्टर काउन्सिलर चोउ पानले चलचित्रलाई भाषा र सीमाभन्दा माथि उठेर मानिसहरूलाई जोड्ने सार्वभौमिक माध्यमका रूपमा व्याख्या गरेका थिए। उनले चलचित्रले दुई देशबीचको सांस्कृतिक सम्बन्ध सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

उद्घाटन कार्यक्रममा ‘ट्र्याप्ड’का निर्देशक सागर झाङ स्वयं उपस्थित भएर दर्शकसँग अन्तरक्रिया गरेका थिए। प्रश्नोत्तरका क्रममा उनले चलचित्रको विशिष्ट दृश्य शैली इटालियन वेस्टर्न सिनेमाबाट प्रभावित रहेको बताए। उक्त संवादले नेपाली र चिनियाँ चलचित्रकर्मीबीच अनुभव आदानप्रदानको अवसर प्रदान गरेको थियो।

महोत्सवमा प्रदर्शन भएका चलचित्रहरूले विभिन्न विषयवस्तु समेटेका थिए। ‘बियोन्ड द स्काइज’ले चिनियाँ गृहयुद्धकालीन साहसिक अभियानको कथा प्रस्तुत गरेको थियो भने ‘समर डायरी’ले मरुभूमिमा आमाको खोजीमा निस्किएका बालकको जीवनयात्रालाई चित्रण गरेको थियो।

त्यसैगरी ‘द स्याडोलेस टावर’ले जीवनका असफलतासँग संघर्षरत एक वृत्तचित्र निर्माताको कथा प्रस्तुत गरेको थियो भने ‘जर्नी टु द वेस्ट’ले एलियनको खोजीमा लागेका पत्रिका सम्पादकको रोचक यात्रालाई हास्य शैलीमा देखाएको थियो। सस्पेन्स र अपराध कथामा आधारित ‘लस्ट इन द स्टार्स’ले पनि दर्शकको विशेष ध्यान आकर्षित गरेको थियो।

आयोजकका अनुसार चिनियाँ चलचित्रहरूले पारिवारिक मूल्य, आस्था, प्रेम, संघर्ष र स्वतन्त्रताजस्ता साझा मानवीय भावनालाई विश्वभरका दर्शकमाझ पुर्‍याइरहेका छन्। आगामी दिनमा ‘तियानतान अवार्ड प्यानोरामा’ विश्वका अन्य सहरहरूमा पनि आयोजना गरिने र यसले चीन–नेपालबीचको सांस्कृतिक सम्बन्धलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *