`

‘छ माया छपक्कै २’ : को-को हुन् लुकेका कलाकार ?

Nepal One HD ३१ जेठ २०८३ १५:५०
चलचित्र

काठमाडौं । दीपकराज गिरी र दीपाश्री निरौलाको टिमले निर्माण गरिरहेको बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ को छायांकन अन्तिम चरणमा पुगेको छ ।

निर्माण स्रोतका अनुसार करिब ५० दिनको सेड्युलसहित सुरु गरिएको छायांकनको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको छ ।

आमा सरस्वती मुभिज र रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको यो चलचित्रको निर्देशन दीपेन्द्र लामाले गरिरहेका छन् । सात वर्षअघि प्रदर्शन भएको सुपरहिट चलचित्र ‘छ माया छपक्कै’ को सिक्वेलका रूपमा निर्माण भइरहेको यस फिल्मप्रति दर्शकमाझ सुरुदेखि नै उत्सुकता देखिएको छ ।

निर्माण पक्षले हालसम्म कलाकारहरूको पूर्ण सूची सार्वजनिक नगरे पनि दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईको नाम आधिकारिक रूपमा सार्वजनिक गरिसकेको छ । तर छायांकनस्थलबाट प्राप्त जानकारीअनुसार चलचित्रमा अन्य चर्चित कलाकारहरूको पनि महत्वपूर्ण भूमिका रहनेछ ।

स्रोतका अनुसार चलचित्रमा अभिनेता कार्म, रिहान गिरी तथा रविन्द्र झाको पनि अभिनय रहनेछ । कार्म र रविन्द्र झा नेपाली चलचित्र क्षेत्रमा स्थापित नाम हुन् भने रिहान गिरीले हालै चलचित्र ‘होस्टेल ३’ मार्फत चलचित्र क्षेत्रमा प्रवेश गरेका थिए । रिहानले ‘छ माया छपक्कै २’ को छायांकनस्थलमा खिचिएको भिडियो सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सार्वजनिक गरिसकेका छन्, जसले उनको सहभागितालाई थप बलियो संकेत दिएको छ ।

यद्यपि निर्माण पक्षले यी कलाकारहरूको सहभागिताबारे औपचारिक घोषणा भने अझै गरेको छैन । यसअघि पनि दीपकराज–दीपाश्रीको टिमले ‘छक्का पञ्जा ५’ मा केही कलाकारको नाम प्रदर्शन मिति नजिकिँदै जाँदा मात्र सार्वजनिक गरेको थियो । त्यसैले यसपटक पनि केही कलाकारलाई अन्तिम समयसम्म गोप्य राख्ने रणनीति अपनाइएको अनुमान गरिएको छ ।

सार्वजनिक गरिएका कलाकारबाहेक थप चर्चित अनुहारहरूको उपस्थितिले ‘छ माया छपक्कै २’ को कलाकार टोली झन् बलियो र आकर्षक बनेको देखिन्छ । पहिलो भागमा मुख्य भूमिकामा रहेका दीपकराज गिरी र केकी अधिकारी दोस्रो भागमा पनि दोहोरिएका छन् भने सनिशा भट्टराई नयाँ कलाकारका रूपमा भित्रिएकी छन् ।

यता पहिलो भागका प्रमुख कलाकार केदार घिमिरे र जितु नेपाल भने यस सिक्वेलमा नदेखिने बताइएको छ । उनीहरूको अनुपस्थितिमा नयाँ कलाकारहरूले कथालाई कसरी अगाडि बढाउँछन् भन्ने विषय पनि दर्शकका लागि चासोको विषय बनेको छ ।

निर्माण टिमका अनुसार चलचित्रले सामाजिक तथा राजनीतिक विषयवस्तुलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गर्नेछ । दीपकराज गिरी र दीपाश्री निरौलाको टिम सामाजिक यथार्थ र समसामयिक विषयलाई व्यंग्यात्मक शैलीमा पर्दामा उतार्न सफल मानिने भएकाले यस चलचित्रबाट पनि त्यस्तै अपेक्षा गरिएको छ ।

रोहित अधिकारी निर्माता रहेको ‘छ माया छपक्कै २’ आगामी दसैंको अवसर पारेर फूलपातीदेखि प्रदर्शनमा आउने तयारीमा छ । छायांकन अन्तिम चरणमा पुगेसँगै अब निर्माण पक्ष पोस्ट–प्रोडक्सनको काममा केन्द्रित हुने भएको छ ।

चलचित्रको प्रदर्शन मिति नजिकिँदै जाँदा कलाकार, कथा र अन्य पक्षबारे थप जानकारी सार्वजनिक गरिने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *