`

कटारी अस्पताल विवाद : ‘लापरवाही’ को हल्लादेखि मेसुको पलायनसम्म

Nepal One HD ३१ जेठ २०८३ १६:०१
जीवनशैली/स्वास्थ्य

काठमाडौं । उदयपुरको कटारी अस्पतालमा केही साताअघि भएको विवादले सामाजिक सञ्जालदेखि राष्ट्रिय सञ्चारमाध्यमसम्म व्यापक चर्चा पायो ।

अस्पतालको मर्चुरी फ्रिज बिग्रिएको, शव गन्हाएर राखिएको र अस्पताल प्रशासनले बेवास्ता गरेको आरोपबीच अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट (मेसु) डा. गौरव साह विवादको केन्द्रमा तानिए । तर डा. साहले घटनाको वास्तविकता आफूविरुद्ध फैलाइएको प्रचारभन्दा फरक रहेको दाबी गरेका छन् ।

उनका अनुसार २०८३ जेठ ११ गते सौगात एकेडेमीको बसबाट खसेर कटारी नगरपालिका निवासी सहचालक उत्तम थापाको मृत्यु भएपछि बिहान करिब ९ बजे शव कटारी अस्पताल ल्याइएको थियो । चिकित्सकले मृत घोषणा गरेपछि बिहान १०:३० बजे शव पोस्टमार्टम कक्षमा लगिएको थियो ।

त्यही क्रममा अस्पतालका प्राविधिक विनोद कुँवरले हालै जडान गरिएको मर्चुरी फ्रिजमा शव राखेर सञ्चालन गर्ने प्रयास गरेका थिए । तर मेसिन अन गर्दा फ्रिजबाट अस्वाभाविक आवाज आएपछि प्राविधिक समस्या देखियो र तत्काल मर्मत कार्य सुरु गरिएको थियो ।

डा. साहका अनुसार मृतकका आफन्तले फ्रिज बिग्रिएको विषयमा अस्पताल प्रशासनलाई गुनासो गरेपछि प्रशासन प्रमुख नवीन बस्नेतले प्राविधिकसँग समन्वय गरेर मर्मत भइरहेको जानकारी परिवारलाई दिएका थिए । तर त्यसपछि सामाजिक सञ्जालमा अस्पतालविरुद्ध विभिन्न आरोपहरू फैलिन थाले ।

उनको दाबीअनुसार फ्रिज बिग्रिएको, शव केही घण्टामै गन्हाएको, अस्पताल प्रशासनले बेवास्ता गरेको र मेसु डा. साहले गैरजिम्मेवार अभिव्यक्ति दिएको जस्ता आरोपहरू तथ्यमा आधारित थिएनन् । उनी भन्छन्, ‘त्यतिबेला म अस्पतालमै पुगेको पनि थिइनँ ।’

घटनाले मोड तब लियो जब एक स्थानीय व्यक्तिले दिउँसो सामाजिक सञ्जालमा अस्पतालको व्यवस्थापनमाथि प्रश्न उठाउँदै पोस्ट गरे । त्यसपछि स्थानीय रेडियोले अस्पतालसँग कुनै आधिकारिक प्रतिक्रिया नलिई ‘चरम लापरवाही’ भएको आशयको समाचार प्रसारण गर्‍यो । त्यसपछि अस्पतालमा मानिसहरूको भीड बढ्न थालेको डा. साहको भनाइ छ ।

उनका अनुसार त्यसपछि केही व्यक्तिहरूले प्रहरीको अनुमति बिना नै शवलाई पोस्टमार्टम कक्षबाट निकालेर आकस्मिक कक्षको गेट अगाडि राखे । आफू अस्पताल पुग्दा इमर्जेन्सीको प्रवेशद्वारमै शव राखिएको अवस्था देखेको उनले बताएका छन् ।

भीडलाई सम्झाउने प्रयास गर्दा अवस्था झन् तनावपूर्ण बनेको उनी बताउँछन् । मृतकका आफन्तसँग छुट्टै कुरा गर्न खोज्दा अस्वीकार गरिएको र अस्पतालको नियमित सेवा प्रभावित हुने भएकाले आकस्मिक कक्ष अगाडि शव नराख्न आग्रह गरेको उनको भनाइ छ ।

‘मैले आकस्मिक कक्ष अगाडि शव राख्न नमिल्ने मात्र भनेको थिएँ । तर त्यसलाई अस्पतालमा शव राख्नै नदिएको जस्तो बनाइयो,’ उनले भनेका छन् ।

त्यसपछि अवस्था झन् बिग्रँदै गएको डा. साहको दाबी छ । केही व्यक्तिहरूले आफूलाई लक्षित गर्दै अपमानजनक शब्द प्रयोग गरेको, गालीगलौज गरेको र आक्रामक व्यवहार देखाएको उनले बताएका छन् ।

स्थिति नियन्त्रणबाहिर जाने संकेत देखिएपछि उनी पोस्टमार्टम कक्षतर्फ गएका थिए । तर त्यहाँसम्म पनि आक्रोशित समूह पुगेपछि आफूले संयमता अपनाउँदै संवाद गर्ने प्रयास गरेको उनको भनाइ छ ।

उनका अनुसार तनाव उत्कर्षमा पुगेपछि अस्पताल परिसरमा ‘राजीनामा दे’, ‘मुर्दाबाद’, ‘अस्पतालमा आगो लगाऊ’ जस्ता नाराहरू समेत लगाइएका थिए । परिस्थिति थप असुरक्षित बनेपछि उनी पोस्टमार्टम कक्षको पछाडिको ढोका हुँदै पर्खाल नाघेर बाहिर निस्किएका थिए ।

अस्पतालका कर्मचारीहरूले पनि तत्काल अस्पताल नफर्किन सुझाव दिएपछि उनी कटारीबाट बाहिरिएका थिए । उता आन्दोलनकारीहरूले पोस्टमार्टम प्रक्रिया नै रोक्ने अडान लिएपछि त्यस दिन शव परीक्षण हुन सकेन ।

यसबीच डा. साहसँगको भनाभनको भिडियो सामाजिक सञ्जालमा तीव्र रूपमा भाइरल बन्यो । उनले आफूविरुद्ध योजनाबद्ध रूपमा मानहानि हुने सामग्री फैलाइएको दाबी गर्दै सामाजिक सञ्जालमार्फत अस्पताल नफर्किने घोषणा समेत गरेका थिए ।

घटनापछि अस्पताल विकास समितिले नेपाल चिकित्सक सङ्घ, स्वास्थ्य मन्त्रालय, स्थानीय प्रशासन, जनप्रतिनिधि, राजनीतिक दल, पीडित परिवार तथा सरोकारवालाहरूको सहभागितामा सर्वपक्षीय बैठक आयोजना गरेको थियो ।

जेठ २० गते भएको उक्त बैठकमा नेपाल चिकित्सक सङ्घका प्रतिनिधिहरूले चिकित्सकको सुरक्षाको विषय उठाएका थिए भने डा. साहले घटनाबारे आफ्नो पक्ष विस्तारमा राखेका थिए ।

बैठकमा सहभागी विभिन्न पक्षहरूले घटनाको वास्तविकता बुझ्ने अवसर पाएको र प्रारम्भिक रूपमा सार्वजनिक भएको विवरणभन्दा फरक पक्ष पनि रहेको निष्कर्ष निस्किएको डा. साहको भनाइ छ ।

उनका अनुसार छलफलका क्रममा जनप्रतिनिधिहरूले कटारी अस्पताललाई स्थानीय स्वास्थ्य सेवाको महत्वपूर्ण आधारका रूपमा उल्लेख गर्दै घटनाबाट सिर्जित अवस्थाप्रति दुःख व्यक्त गरेका थिए ।

डा. साहले सम्पूर्ण घटनाले स्वास्थ्य क्षेत्रसँग सम्बन्धित समाचार सम्प्रेषण गर्दा तथ्य पुष्टि, सन्तुलन र संवेदनशीलताको आवश्यकता झन् स्पष्ट बनाएको बताएका छन् । उनका अनुसार अपुष्ट सूचना, एकपक्षीय प्रस्तुति र सामाजिक सञ्जालमा फैलिने अफवाहहरूले स्वास्थ्यकर्मीको मनोबल मात्र होइन, समग्र सार्वजनिक स्वास्थ्य सेवामाथि पनि नकारात्मक असर पार्न सक्छ ।

उनले जिम्मेवार पत्रकारिता, तथ्यमा आधारित रिपोर्टिङ र संवेदनशील विषयमा सावधानीपूर्वक सूचना सम्प्रेषणको अभ्यास आवश्यक रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *