`

‘गंगा रानी’मा वर्षाको जोडी ‘रोशन केसी’

Nepal One HD १ असार २०८३ १२:०७
चलचित्र

काठमाडौं । अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकामा रहने फिल्म ‘गंगा रानी’ मा उनको जोडीका रूपमा नव कलाकार रोशन केसी अनुबन्धित भएका छन् । निर्माण पक्षले ५०० भन्दा बढी आवेदकमध्ये केसीलाई चयन गरिएको जनाएको छ ।

राजबहादुर सानेको निर्देशनमा बन्न लागेको फिल्मका लागि यसअघि वर्षा सिवाकोटीलाई मुख्य अभिनेत्रीका रूपमा अनुबन्ध गरिसकिएको थियो । त्यसपछि ४ अभिनेता र ४ अभिनेत्रीका लागि खुला गरिएको अडिसनमार्फत कलाकार छनोट प्रक्रिया अघि बढाइएको थियो ।

निर्देशक सानेका अनुसार अडिसनबाट प्राप्त फोटो र भिडियोका आधारमा कलाकार छनोट भइरहेको छ । हाल थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने काम अन्तिम चरणमा पुगेको उनले बताएका छन् । पात्रअनुसार उपयुक्त देखिने कलाकारलाई प्राथमिकता दिइएको उनको भनाइ छ ।

आहा फिल्म्सको प्रस्तुतिमा निर्माण हुने ‘गंगा रानी’ का निर्माता कमलप्रसाद शर्मा हुन् । निर्देशक सानेकै लेखन रहने फिल्म आगामी भदौको दोस्रो साताबाट छायांकनमा जाने तयारीमा छ ।

यसैबीच, निर्देशक सानेकै अघिल्लो फिल्म ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *