रोल न. ‘१’ को कमाई कति ?
काठमाडौं । चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस विवरणअनुसार चलचित्र ‘रोल न.१’ ले प्रदर्शनको दुई सातामा उत्साहजनक व्यापार गरेको छ।
एकैसाथ प्रदर्शनमा आएका चलचित्र ‘रोल न.१’ र ‘कुम्भ’ मध्ये ‘रोल न.१’ ले दुई साताको अवधिमा एक करोड ३५ लाख १५ हजार रुपैयाँ ग्रस कलेक्सन गरेको बोर्डको तथ्यांकमा उल्लेख छ। चलचित्रलाई हालसम्म ४७ हजार १ सय ५१ दर्शकले हेरिसकेका छन्।
निर्देशक जोन योञ्जनको निर्देशनमा बनेको ‘रोल न.१’ देशभरका सिनेमा घरमा प्रदर्शन भइरहेको छ। चलचित्रले नेपालको वर्तमान शिक्षा प्रणाली, विद्यार्थीमाथि पर्ने शैक्षिक दबाब तथा प्रतिस्पर्धात्मक वातावरणका कारण बालबालिकाले भोग्नुपर्ने मानसिक अवस्थालाई मुख्य विषयवस्तु बनाएको छ।
फिल्ममा ग्रामीण परिवेशमा हुर्किएको एक बालकको संघर्ष, सपना र शैक्षिक यात्रालाई केन्द्रमा राखेर कथा प्रस्तुत गरिएको छ। सामाजिक सन्देश बोकेको विषयवस्तु र बाल मनोविज्ञानको चित्रणका कारण चलचित्रले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताइएको छ।
दुई साताको व्यापारिक सफलतासँगै ‘रोल न.१’ ले नेपाली बक्स अफिसमा आफ्नो उपस्थिति बलियो बनाएको देखिएको छ।
