लागुऔषध दुर्व्यसन नियन्त्रणका लागि विद्यालयमा योग र ध्यान अभियान सञ्चालन गरिने
जनकपुरधाम। मधेस प्रदेश सरकारले बढ्दो लागुऔषध दुर्व्यसन तथा मानसिक स्वास्थ्यसम्बन्धी समस्यालाई न्यूनीकरण गर्न विद्यालय र सार्वजनिक स्थलहरूमा योग तथा ध्यान अभियान सञ्चालन गर्ने भएको छ।
सोमबार प्रदेशसभामा आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री युवराज भट्टराईले युवापुस्तामा बढ्दो दुर्व्यसन र मानसिक स्वास्थ्य चुनौतीलाई ध्यानमा राख्दै योग तथा ध्यान कार्यक्रम सञ्चालन गरिने घोषणा गरेका हुन्।
बजेट वक्तव्यमा महेन्द्रनारायण निधि आवास कार्यक्रम र मदन भण्डारी आवास कार्यक्रमलाई एकीकृत गरी ‘मुख्यमन्त्री आवास कार्यक्रम’ सञ्चालनमा ल्याइने उल्लेख गरिएको छ।
प्रदेश सरकारले निर्माणाधीन योजनाहरूलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको जनाएको छ। कृषि क्षेत्रको उत्पादनलाई सहज रूपमा बजारसम्म पुर्याउन कृषि कोरिडोर निर्माण गरिने कार्यक्रमसमेत बजेटमा समावेश गरिएको छ।
यस्तै, यातायात पूर्वाधार विस्तारअन्तर्गत कमला नदीमा वैकल्पिक पुल निर्माण गरिने घोषणा पनि अर्थमन्त्री भट्टराईले गरेका छन्। सरकारले यी कार्यक्रममार्फत सामाजिक, आर्थिक तथा पूर्वाधार विकासलाई थप गति दिने अपेक्षा गरेको छ।
