`

बेइजिङमा शिशिर खनाल र सीपीसी नेतृत्वबीच भेटवार्ता

Nepal One HD १ असार २०८३ १८:२०
प्रमुख खबर

बेइजिङ । परराष्ट्रमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विदेश विभाग प्रमुख शिशिर खनालले सोमबार बेइजिङमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को अन्तर्राष्ट्रिय विभागका प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गरेका छन्।

भेटवार्ताका क्रममा नेपाल-चीन सम्बन्ध, अन्तरपार्टी सहकार्य तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा छलफल भएको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन्।

चिनियाँ पक्षले नेपालसँगको परम्परागत मित्रतालाई थप सुदृढ बनाउन इच्छुक रहेको बताउँदै राजनीतिक दलहरूबीचको आदानप्रदान, अनुभव साझेदारी तथा रणनीतिक संवादलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। सीपीसीले शासन प्रणाली, विकास अनुभव र विभिन्न क्षेत्रगत सहकार्यलाई दलस्तरीय सम्बन्धमार्फत अगाडि बढाउन तयार रहेको जनाएको छ।

भेटमा मन्त्री खनालले नेपाल र चीनबीच सात दशक लामो कूटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै आपसी सम्मान, सार्वभौमिक समानता र पञ्चशीलका सिद्धान्तका आधारमा सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल प्रतिबद्ध रहेको बताए।

उनले नेपाल एक चीन नीतिप्रति दृढ रहेको दोहोर्‍याउँदै कुनै पनि चीनविरोधी गतिविधिका लागि नेपाली भूमि प्रयोग हुन नदिने स्पष्ट पारे।

खनालले विज्ञान तथा प्रविधि, शिक्षा, जलस्रोत विकास, पूर्वाधार निर्माण र क्षेत्रीय कनेक्टिभिटीका क्षेत्रमा चीनसँग सहकार्य विस्तार गर्न नेपाल इच्छुक रहेको उल्लेख गरे। साथै उनले रास्वपा र चिनियाँ कम्युनिष्ट पार्टीबीच संस्थागत सम्बन्ध विकास गर्न पार्टी तयार रहेको बताउँदै सुशासन, प्रशासनिक सुधार र विकास व्यवस्थापनका क्षेत्रमा चीनको अनुभवबाट सिक्न चाहेको धारणा राखे।

दुवै पक्षले नेपाल–चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन राजनीतिक, आर्थिक तथा जनस्तरका सम्बन्धलाई थप मजबुत बनाउने विषयमा समेत जोड दिएका छन्।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *