‘चमेलीको पोइ’ असोज १६ गतेदेखि…
काठमाडौं। निर्देशक एभरेष्ट सूर्य बोहराको नयाँ फिल्म ‘चमेलीको पोइ’ आगामी असोज १६ गतेदेखि प्रदर्शनमा आउने भएको छ।
दशैंको अवसर पारेर रिलिज हुन लागेको यो फिल्म पारिवारिक कमेडी जनरामा निर्माण गरिएको हो। निर्माण पक्षले यसलाई दशैं विशेष रिलिजका रूपमा प्रस्तुत गर्ने तयारी गरेको छ।
फिल्ममा मुकुन भुसाल, सुरक्षा पन्त, नारायण त्रिपाठी, विल्सन विक्रम राई, रवीन्द्र झा, अंशु महर्जन, खड्गबहादुर पुन (खबपु), उमेश राई, रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, प्रेमदेव गिरी, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाही, रितु मल्ल ठकुरी, अनाररत्न बज्राचार्य र बिन्दु आचार्यलगायत कलाकारको अभिनय रहेको छ। हास्य कलाकार नारायण त्रिपाठी करिब दुई दशकपछि ठूलो पर्दामा पुनरागमन गर्दैछन्। फिल्ममा उनको महत्वपूर्ण भूमिका रहेको निर्माण पक्षले जनाएको छ।
धनलक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्म सुनीता सापकोटा र रामनारायण उपाध्यायले निर्माण गरेका हुन्। निर्देशक बोहराकै कथा रहेको फिल्ममा लेखन शिवम् अधिकारीसँगको सहकार्यमा गरिएको छ। फिल्मको छायांकन मुस्ताङ, पोखरा र काठमाडौंका विभिन्न स्थानमा गरिएको हो।
फिल्ममा संगीत राजनराज शिवाकोटी र आशिष अविरलले दिएका छन् भने कोरियोग्राफी कविराज गहतराज र द्वन्द्व निर्देशन कुमार महर्जनले सम्हालेका छन्। उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य कार्यकारी निर्माता हुन्। धनकुमारी श्रेष्ठ (बोहरा) लाइन प्रोड्युसर हुन् भने सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, प्रदीपकुमार सापकोटा र यमप्रसाद वली सहनिर्माताका रूपमा रहेका छन्।
फिल्मलाई आरआर फिल्म्सले वितरण गर्नेछ भने डिजिटल वितरण ओएसआर डिजिटलले गर्ने जनाएको छ।
यस वर्षको दशैं रिलिजमध्ये ‘चमेलीको पोइ’लाई अपेक्षित फिल्मका रूपमा हेरिएको छ।
