`

हर्क साम्पाङको लाइसेन्स रद्द [भिडियाे]

Nepal One HD ४ असार २०८३ १४:०३
भिडियो

काठमाडौं। प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र (लाइसेन्स) रद्द भइसकेको अवस्थामा रहेको भेटिएको छ। यातायात व्यवस्था कार्यालय, इटहरीको अभिलेख परीक्षणका क्रममा साम्पाङले २०७१ पुस ६ पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको तथ्य फेला परेको हो।

प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतका अनुसार साम्पाङले त्यसबेला आफ्नो श्रेणी ‘ए’ को लाइसेन्स जरिवानासहित नवीकरण गरेका थिए। तर त्यसपछि कानुनले तोकेको अवधिभित्र पुनः नवीकरण नगरेको अभिलेखमा देखिएको छ।
उक्त विषयमा प्रहरी प्रधान कार्यालयअन्तर्गतको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखाले थप छानबिन गरिरहेको बताइएको छ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा ५७ अनुसार तोकिएको अवधिसम्म नवीकरण नगरिएको चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ।

यसअघि जेठ २९ गते उदयपुरको उदयपुरगढी गाउँपालिका–६ स्थित मदन भण्डारी लोकमार्गमा बागमती प्रदेश ०२–६० प ०२५९ नम्बरको मोटरसाइकल लापरबाहीपूर्वक चलाएको आरोपमा ट्राफिक प्रहरीले साम्पाङलाई कारबाही गरेको थियो। सो घटनापछि राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले उनको नाममा चिट जारी गरेको थियो।

उक्त घटनाको अनुसन्धानकै क्रममा लाइसेन्सको अवस्थाबारे जाँच गर्दा नवीकरण अवधि गुज्रिएको र कानुनी रूपमा रद्द भइसकेको विवरण फेला परेको स्रोतले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *