रेबिज खोप अभावले टेकु अस्पतालमा बढ्यो बिरामीको चाप
काठमाडौं । देशभरका सरकारी स्वास्थ्य संस्थामा रेबिजविरुद्धको खोप अभाव हुन थालेपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोप लगाउन आउने बिरामीको संख्या उल्लेख्य रूपमा बढेको छ।
विशेषगरी काठमाडौँ उपत्यका बाहिरका जिल्लाबाट समेत नागरिकहरू खोपका लागि राजधानी धाउन बाध्य भएका छन्।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाका अनुसार सिन्धुपाल्चोक, धादिङ, काभ्रेपलाञ्चोक, नुवाकोट, रसुवालगायत जिल्लाबाट दैनिक रूपमा रेबिज खोप लगाउन आउने बिरामीको संख्या बढिरहेको छ।
उनले रेबिज खोप आपूर्तिको जिम्मेवारी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको भए पनि चालु आर्थिक वर्षमा पर्याप्त खोप खरिद हुन नसक्दा देशभर अभाव सिर्जना भएको बताए।
अस्पतालको तथ्यांकअनुसार जेठ महिनामा मात्रै ६ हजार ९ सय ४७ जना रेबिज खोप लगाउन टेकु अस्पताल पुगेका थिए। असार १ गते १७५, असार २ गते १७३ र असार ३ गते १८६ जना खोपका लागि अस्पताल पुगेको रेकर्डमा उल्लेख छ।
स्वास्थ्यकर्मीहरूका अनुसार पछिल्ला दिनहरूमा खोप सेवामा चाप निरन्तर बढ्दो क्रममा छ।
स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. अनुज भट्टचनले खोप अभाव खरिद प्रक्रियासँग सम्बन्धित समस्या भएको स्वीकार गरेका छन्। उनका अनुसार यसअघि गरिएको आयात प्रयास सफल हुन नसक्दा देशका विभिन्न स्थानमा खोप अभाव देखिएको हो।
समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय, विभाग र सम्बन्धित निकायबीच छलफल भइरहेको तथा छिट्टै खरिद प्रक्रिया अगाडि बढाइने तयारी गरिएको उनले बताए।
उनले विश्व स्वास्थ्य संगठन तथा अन्य अन्तर्राष्ट्रिय साझेदार संस्थासँग समेत समन्वय गरेर आवश्यक खोप उपलब्ध गराउने प्रयास भइरहेको जानकारी दिए। मन्त्रालयस्तरमै मन्त्री र सचिवसहितको बैठक बसेर रेबिज खोपलाई प्राथमिकतामा राख्ने निर्णय भएको पनि उनले बताए।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार रेबिज खोप अभावको सबैभन्दा ठूलो असर आर्थिक रूपमा कमजोर वर्गमा परेको छ। आर्थिक हैसियत भएका व्यक्तिहरूले निजी स्वास्थ्य संस्थाबाट खोप लगाउन सक्ने भए पनि गरिब र दुर्गम क्षेत्रका नागरिकहरू जोखिममा पर्ने अवस्था सिर्जना भएको उनको भनाइ छ।
उनले रेबिजका बिरामीहरू राजधानीभन्दा ग्रामीण तथा दुर्गम क्षेत्रमा बढी भेटिने भएकाले खोप आपूर्ति तत्काल सहज बनाउन सरकारलाई आग्रह गरेका छन्। रेबिजबाट हुने मृत्यु पूर्ण रूपमा रोक्न सकिने भएकाले खोप अभावलाई सामान्य रूपमा लिन नहुने उनको चेतावनी छ।
विश्व स्वास्थ्य संगठनका अनुसार रेबिजका कारण विश्वभर हरेक वर्ष करिब ५९ हजार जनाको मृत्यु हुने गरेको छ। औसतमा प्रत्येक ९ मिनेटमा एक जनाको ज्यान रेबिजका कारण जाने गरेको तथ्यांक छ। यसबाट सबैभन्दा बढी बालबालिका र गरिब समुदाय प्रभावित हुने गरेका छन्।
नेपालमा प्रत्येक वर्ष सरकारी स्वास्थ्य संस्थामार्फत ६० हजारभन्दा बढी व्यक्तिले रेबिजविरुद्धको खोप लगाउने गरेका छन्। निजी क्षेत्रबाट खोप लिनेहरूको संख्या छुट्टै छ। स्वास्थ्य विज्ञहरूका अनुसार नेपालमा हरेक वर्ष सयभन्दा बढी व्यक्तिको मृत्यु रेबिजका कारण हुने गरेको छ।
के हो रेबिज ?
रेबिज तातो रगत भएका स्तनधारी जनावरबाट मानिसमा सर्ने अत्यन्त घातक भाइरल रोग हो। ‘लाइसा भाइरस’ नामक भाइरसबाट हुने यो रोगले मानिसको स्नायु प्रणाली र मस्तिष्कमा प्रत्यक्ष असर पुर्याउँछ। रोगका लक्षण देखिन थालेपछि उपचारको सम्भावना अत्यन्त न्यून हुने भएकाले यसलाई सबैभन्दा घातक संक्रामक रोगमध्ये एक मानिन्छ।
रेबिज कसरी सर्छ ?
रेबिज मुख्य रूपमा संक्रमित जनावरको र्यालमार्फत सर्ने गर्छ। रेबिज लागेको कुकुर, बिरालो, स्याल, फ्याउरो, बाँदर वा चमेरोले टोक्दा भाइरस शरीरभित्र प्रवेश गर्न सक्छ। त्यसैगरी संक्रमित जनावरले कोतर्दा वा चिथोर्दा बनेको घाउमा र्यालको सम्पर्क भएमा पनि संक्रमण फैलिन सक्छ।
स्वास्थ्य विज्ञहरूका अनुसार रेबिजको जोखिम भएको अवस्थामा तत्काल साबुनपानीले घाउ सफा गर्ने र सकेसम्म छिटो स्वास्थ्य संस्थामा पुगेर खोप लगाउने नै जीवन बचाउने सबैभन्दा प्रभावकारी उपाय हो।
