`

कडा शिघ्र कुपोषण बढ्दै

Nepal One HD ५ असार २०८३ १४:४२
जीवनशैली/स्वास्थ्य

हुम्ला । जिल्लामा सञ्चालन गरिएको राष्ट्रिय पोषण लेखाजोखा अभियानका क्रममा २१ जना बालबालिका कडा शिघ्र कुपोषण (सीवियर एक्युट माल्न्युट्रिसन) बाट प्रभावित देखिएका छन्।

स्वास्थ्य सेवा कार्यालय हुम्लाले सञ्चालन गरेको अभियानअनुसार जिल्लाका सातै गाउँपालिकामा ३ हजार २५२ बालबालिकाको पोषण अवस्था परीक्षण गरिएको थियो। सो परीक्षणमा २१ जना बालबालिका कडा कुपोषण र ८१ जना मध्यम शिघ्र कुपोषणमा रहेको पाइएको कार्यालयका पोषण कार्यक्रम सम्पर्क व्यक्ति पाल्जोर तामाङले जानकारी दिएका छन्।

यसअघि गत कात्तिकमा महिला स्वास्थ्य स्वयंसेविकामार्फत गरिएको अभियानमा १३ जना बालबालिका कडा शिघ्र कुपोषणमा देखिएका थिए। पछिल्लो विस्तृत अभियानमा संख्या बढेर २१ पुगेको हो।

अभियानमा कुपोषण पहिचान भएका बालबालिकामध्ये ४२ जना अस्पताल भर्ना भएका छन्। तीमध्ये ३१ जना जिल्ला अस्पतालको निगरानीमा छन् भने ११ जना जुम्लास्थित पोषण सुधार पुनःस्थापना केन्द्रमा उपचाररत छन्।

स्वास्थ्य सेवा कार्यालयले गत वैशाख १५ देखि जेठ १५ सम्म ६ देखि ५९ महिनासम्मका बालबालिकाको पोषण अवस्था जाँच गरी समयमै पहिचान र उपचार गर्ने उद्देश्यले अभियान सञ्चालन गरेको थियो।

स्वास्थ्यकर्मीका अनुसार कडा शिघ्र कुपोषण भएका बालबालिकामा अत्यधिक दुब्लोपन, करङ देखिने अवस्था र उमेरअनुसार तौल कम हुने समस्या देखिन्छ। यस्तो अवस्थामा ‘तयारी उपचारात्मक खाना’ (आरयूटीएफ) आवश्यक पर्ने चिकित्सकहरूले बताएका छन्।

तर जिल्लामा पोषण पुनःस्थापना केन्द्रको अभावका कारण उपचारमा केही कठिनाइ देखिएको छ। जिल्ला अस्पतालमा असार पहिलो सातासम्म केन्द्र स्थापना गर्ने तयारी भइरहेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख चिकित्सक उमाकान्त तिवारीले बताएका छन्।

उनका अनुसार कुपोषण बढ्नुका प्रमुख कारणमा अभिभावकको सचेतनाको कमी, बालविवाह, र आमा तथा शिशुको असन्तुलित आहार प्रमुख रहेका छन्।

हाल कर्णाली प्रदेशभरि करिब ५ हजार ९८९ बालबालिका शिघ्र कुपोषणबाट प्रभावित रहेको तथ्यांक छ। त्यसमध्ये १ हजार ५०३ जना कडा शिघ्र कुपोषणमा रहेका छन्।

स्वास्थ्यकर्मीहरूले समयमै उपचार, पोषण सुधार कार्यक्रम र समुदायस्तरमा सचेतना अभिवृद्धि नगरे समस्या थप जटिल बन्न सक्ने चेतावनी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *