‘धुरन्धर’बाटै रणवीरले कमाए ३२५ करोड
एजेन्सी। बलिउड अभिनेता रणवीर सिंहले एउटै चलचित्र परियोजनाबाट करिब ३२५ करोड भारतीय रुपैयाँ आम्दानी गर्दै भारतीय चलचित्र उद्योगमा नयाँ कीर्तिमान बनाएको दाबी गरिएको छ।
मिडिया रिपोर्टअनुसार उनले फिल्म ‘धुरन्धर’ बाट उक्त आम्दानी गरेका हुन्। दुई भागमा प्रदर्शन गरिएको यो फिल्मले विश्वव्यापी रूपमा ठूलो व्यापार गरेको बताइएको छ।
रिपोर्टमा उल्लेख भएअनुसार फिल्मका दुवै भागले संयुक्त रूपमा करिब ३ हजार २०० करोड भारु विश्वभर कमाएका थिए। यसमध्ये भारतबाट मात्रै १ हजार ९०० करोड रुपैयाँभन्दा बढी आम्दानी भएको जनाइएको छ।
जानकारी अनुसार रणवीर सिंहले यस फिल्मका लागि परम्परागत निश्चित पारिश्रमिक नलिई नाफामा आधारित साझेदारी मोडेल अपनाएका थिए। यही कारण उनले फिल्मको नाफामा प्रत्यक्ष हिस्सा पाएका हुन्।
फिल्मको बजेट बढेपछि उनले व्यक्तिगत रूपमा लगानी समेत गरेको बताइन्छ, जसले उनको कुल हिस्सामा वृद्धि भएको उल्लेख गरिएको छ। हल प्रदर्शनसँगै डिजिटल अधिकार, टेलिभिजन प्रसारण अधिकार र संगीत अधिकारबाट प्राप्त आम्दानी समेत जोडिँदा उनको कुल हिस्सा करिब ३२५ करोड रुपैयाँ पुगेको दाबी गरिएको छ।
यसअघि भारतीय चलचित्र उद्योगमा सबैभन्दा बढी कमाइको रेकर्ड दक्षिण भारतीय अभिनेता रजनीकान्तको नाममा थियो। उनले २०२४ मा प्रदर्शन भएको फिल्म ‘जेलर’ बाट २५० करोड रुपैयाँभन्दा बढी आम्दानी गरेको बताइएको छ।
त्यस्तै अल्लु अर्जुन र प्रभासले क्रमशः ‘पुष्पा २’ र ‘कल्कि २८९८ एडी’ मार्फत २०० करोड रुपैयाँभन्दा बढी आम्दानी गरिसकेका उल्लेख छ।
बलिउडतर्फ यसअघि शाहरुख खानको नाममा उच्च आम्दानीको रेकर्ड रहेको थियो। उनले २०२३ मा आएका ‘पठान’ र ‘जवान’ फिल्मबाट प्रति फिल्म करिब २०० करोड रुपैयाँ कमाएको बताइएको छ।
