रेबिज संक्रमणबाट चन्द्रागिरिका ४८ वर्षीय पुरुषको मृत्यु
काठमाडौं। रेबिज संक्रमणका कारण काठमाडौंको चन्द्रागिरि नगरपालिकाका एक ४८ वर्षीय पुरुषको मृत्यु भएको छ।
रेबिजको लक्षण देखिएपछि उपचारका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा भर्ना भएका ती पुरुषको उपचारका क्रममा शनिबार मृत्यु भएको हो।
अस्पतालका मेडिकल रेकर्डर समीर अधिकारीका अनुसार ती व्यक्ति असार ५ गते अस्पतालमा भर्ना भएका थिए। भर्ना भएको भोलिपल्ट नै उनको मृत्यु भएको उनले जानकारी दिए। उनका अनुसार ती पुरुषले रेबिजविरुद्धको खोप (एआरभी) लगाएका थिएनन्।
अधिकारीका अनुसार रेबिजका लक्षण देखिइसकेपछि रोगको मृत्युदर शतप्रतिशत हुने गर्छ। चिकित्सकहरूका अनुसार रेबिज भाइरसले घाँटी तथा श्वासप्रश्वाससम्बन्धी मांसपेशीहरूलाई प्रभावित बनाउँछ। यसका कारण पानी निल्न कठिन हुने, पानी देख्दा वा केही निल्ने प्रयास गर्दा घाँटीमा असह्य पीडा महसुस हुने जस्ता लक्षण देखापर्छन्।
संक्रमण बढ्दै जाँदा शरीरका विभिन्न अंगहरूले क्रमशः काम गर्न छाड्ने र अन्ततः बिरामीको मृत्यु हुन सक्ने चिकित्सकहरू बताउँछन्।
स्वास्थ्यकर्मीहरूले जनावरले टोके वा चिथोरेपछि तत्काल घाउ सफा गरी चिकित्सकको परामर्श लिन र समयमै रेबिजविरुद्धको खोप लगाउन आग्रह गरेका छन्। रेबिज एक घातक रोग भए पनि समयमै खोप लगाएमा यसबाट बच्न सकिने चिकित्सकहरूको भनाइ छ।
