सुनकोसीका ज्येष्ठ नागरिकलाई निःशुल्क कृत्रिम दाँत
सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिकाले ज्येष्ठ नागरिकलाई लक्षित गर्दै निःशुल्क कृत्रिम दाँत सेवा उपलब्ध गराएको छ। गाउँपालिका–६ खाल्टेमा रहेको आत्मीय सामुदायिक अस्पतालमा आयोजित विशेष शिविरमार्फत यो सेवा प्रदान गरिएको हो।
सुनकोसी गाउँपालिकाको आर्थिक सहयोग र धुलिखेल अस्पतालको प्राविधिक सहकार्यमा सञ्चालन गरिएको शिविरमार्फत निःशुल्क कृत्रिम दाँत भर्ने कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमअन्तर्गत पहिलो चरणमा ३० जना ज्येष्ठ नागरिकमा कृत्रिम दाँत राख्ने प्रक्रिया सुरु गरिएको जनाइएको छ।
आत्मीय सामुदायिक अस्पतालका निर्देशक सञ्जीव केसीका अनुसार गाउँपालिकाका सबै ७ वटै वडामा गरिएको छनौट शिविरमा ८० भन्दा बढी सबै दाँत झरेका ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गरिएको थियो। तीमध्ये पहिलो चरणमा ३० जनालाई कृत्रिम दाँत राख्नका लागि छनोट गरी आवश्यक प्रक्रिया अघि बढाइएको हो।
उनका अनुसार छनोटमा परेका लाभग्राहीहरूको दाँतको नाप लिने, क्षतिग्रस्त भागहरू निकाल्ने तथा उपचारका प्रारम्भिक प्रक्रिया सम्पन्न भइसकेका छन्।
शिविरमा धुलिखेल अस्पतालका सार्वजनिक स्वास्थ्य दन्त चिकित्सक डा. दिलीप प्रजापतिको नेतृत्वमा ९ सदस्यीय प्राविधिक टोलीले सेवा प्रदान गरेको थियो।
गाउँपालिका र अस्पतालबीचको सहकार्यमा हालसम्म गाउँपालिकाका ७ वटै वडाका ७ सयभन्दा बढी ज्येष्ठ नागरिकले विभिन्न स्वास्थ्य सेवा प्राप्त गरेको जनाइएको छ।
अस्पतालले ज्येष्ठ नागरिक, महिला, विपन्न तथा अपाङ्गता भएका व्यक्तिहरूलाई प्राथमिकताका साथ निःशुल्क सेवा प्रदान गर्दै आएको छ।
यसैबीच, आत्मीय सामुदायिक अस्पताल र धुलिखेल अस्पतालबीच गत पुस महिनामा दन्त सेवा विस्तार तथा सहकार्यसम्बन्धी सम्झौता भएको थियो। उक्त सहकार्यपछि दन्त उपचार सेवा थप व्यवस्थित रूपमा सञ्चालन भइरहेको अस्पतालले जनाएको छ।
ओपीडी, इमर्जेन्सी, प्रयोगशाला, एक्स–रे तथा भिडियो एक्स–रे जस्ता सेवा सञ्चालन गर्दै आएको उक्त अस्पतालले ओपीडी सेवा निःशुल्क रूपमा प्रदान गर्दै आएको छ।
