रास्वपा महाधिवेशन : बन्दसत्रतर्फ जाँदै गर्दा देखियो यस्तो दृश्य
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन व्यवस्थापकीय चुनौतीका बीच बन्दसत्रतर्फ अघि बढेको छ।
प्रतिनिधि व्यवस्थापन, परिचयपत्र वितरण र नामावली प्रमाणीकरणमा देखिएको ढिलाइका कारण महाधिवेशन स्थलमा केही समय अस्तव्यस्त अवस्था देखिएको हो।
सुरुआती अनुमानअनुसार करिब २८ सय प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको भए पनि अन्तिम संख्या ४२ सयभन्दा माथि पुगेपछि व्यवस्थापनमा थप दबाब परेको आयोजक पक्षले जनाएको छ।
प्रतिनिधि छनोटका लागि मापदण्ड तय भए पनि कसैलाई बाहिर नराख्ने प्रयास गर्दा प्रक्रिया लम्बिएको दाबी गरिएको छ।
पार्टीका सहप्रवक्ता रमेश प्रसाईँले व्यवस्थापन अपेक्षाअनुसार प्रभावकारी हुन नसकेको स्वीकार गरेका छन्। सञ्चारकर्मीसँगको कुराकानीमा उनले देखिएका कमजोरी सुधार गर्दै आगामी दिनमा थप व्यवस्थित ढंगले कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याए।
यस्तै प्रवक्ता मनिष झाले पनि प्रतिनिधि छनोट र व्यवस्थापन प्रक्रिया समयमै टुंग्याउन नसक्दा समस्या उत्पन्न भएको स्वीकार गरेका छन्। उनले यस्ता कमजोरी सुधार गर्न पार्टीभित्र सुदृढ व्यवस्थापन आवश्यक रहेको बताएका छन्।
महाधिवेशनस्थलमा सातै प्रदेशका छुट्टाछुट्टै डेस्क स्थापना गरेर प्रतिनिधिहरूको प्रमाणीकरण कार्य भइरहेको छ। अन्तिम नामावलीमा समावेश प्रतिनिधिलाई अस्थायी रूपमा कागजी चिर्कटो वितरण गरिएको छ भने फोटोसहितको परिचयपत्र सबैले प्राप्त गरिसकेका छैनन्।
बन्दसत्रका लागि प्रतिनिधिहरूलाई हलभित्र प्रवेश गराउने काम जारी रहे पनि समाचार तयार पार्दासम्म सभापति रवि लामिछाने र वरिष्ठ नेता वालेन्द्र शाह कार्यक्रमस्थलमा पुगेका थिएनन्। पार्टी नेतृत्वका अनुसार प्रतिनिधिहरूको प्रवेश प्रक्रिया पूरा भएपछि उनीहरू बन्दसत्रमा सहभागी हुनेछन्।
हलभित्र पुगेका प्रतिनिधिहरू भने बन्दसत्र सुरु हुने प्रतीक्षामा विभिन्न समूहमा छलफल, संवाद तथा सांस्कृतिक माहोलमा समय बिताइरहेका देखिएका छन्।
केही प्रतिनिधि गीत-संगीतमा रमाएका छन् भने कतिपय पार्टीको भावी नेतृत्व र संगठनात्मक एजेन्डाबारे अनौपचारिक छलफलमा व्यस्त छन्।
तस्वीरहरू:













