बर्ड फ्लु लागेको कुखुराको मासु खान मिल्छ?
काठमाडौं। देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण फैलिएको पुष्टि भएपछि कुखुरा व्यवसायी, किसान र उपभोक्ताबीच चिन्ता बढेको छ।
संक्रमण नियन्त्रणका लागि सरकारले हालसम्म पाँच लाख ६९ हजार ८५८ वटा कुखुरा नष्ट गरिसकेको छ भने नौ लाख ८९ हजार ३१३ वटा अण्डा र एक लाख ९५ हजार ४८५ किलोग्राम दाना पनि नष्ट गरिएको छ।
पशु सेवा विभागका अनुसार झापा, सुनसरी, मोरङ, बारा, महोत्तरी, चितवन, नवलपरासी, काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा बर्ड फ्लु संक्रमण पुष्टि भएको छ। संक्रमण फैलिन थालेपछि बजारमा कुखुराको मासु र अण्डाको मागमा समेत असर देखिन थालेको छ भने उपभोक्तामा यसको सुरक्षाबारे विभिन्न प्रश्न उठ्न थालेका छन्।
विभागले गरेको प्रयोगशाला परीक्षणमा बर्ड फ्लुका ‘एच–फाइभ एन–वान’ र ‘एच–नाइन एन–टु’ भाइरससँगै ‘न्युक्यासल’ रोगको संक्रमण पनि सक्रिय रहेको पाइएको छ। यद्यपि, कोशी प्रदेशमा पछिल्लो एक महिनायता संक्रमण नियन्त्रणमा उल्लेखनीय प्रगति भएको विभागको दाबी छ।
संक्रमण देखिएलगत्तै सम्बन्धित फार्मका सम्पूर्ण कुखुरा नष्ट गर्ने, अण्डा र दाना व्यवस्थापन गर्ने तथा प्रभावित क्षेत्रलाई निगरानीमा राख्ने कार्य भइरहेको जनाइएको छ।
कुखुराको मासु खान मिल्छ कि मिल्दैन?
बर्ड फ्लु फैलिएसँगै धेरै उपभोक्ताको मुख्य चासो कुखुराको मासु र अण्डा सेवन सुरक्षित छ कि छैन भन्ने बनेको छ।
पशु सेवा विभागका पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार राम्रोसँग पकाइएको वा उमालिएको कुखुराको मासु सेवन गर्दा बर्ड फ्लु सर्ने जोखिम हुँदैन।
उनले भने, ‘राम्ररी पकाइएको कुखुराको मासुबाट बर्ड फ्लु सरेको प्रमाण अहिलेसम्म विश्वमै भेटिएको छैन। स्वस्थ कुखुरा बध गरी तयार गरिएको मासु सेवन गर्दा कुनै स्वास्थ्य जोखिम हुँदैन।’
उनका अनुसार संक्रमित क्षेत्रका कुखुरा बजारसम्म पुग्न नदिने व्यवस्था भएकाले उपभोक्ताले खरिद गर्ने अधिकांश मासु सुरक्षित हुन्छ। संक्रमण पुष्टि हुनेबित्तिकै सम्बन्धित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरिने भएकाले संक्रमित मासु बजारमा पुग्ने सम्भावना न्यून रहने विभागको भनाइ छ।
संक्रमण थप फैलिन नदिन संघीय, प्रदेश र स्थानीय तहबीच समन्वय गरेर विभिन्न नियन्त्रणात्मक उपाय लागू गरिएको छ।
संक्रमित फार्मका सम्पूर्ण कुखुरा नष्ट गरी सुरक्षित रूपमा व्यवस्थापन गर्ने, प्रयोगशालाहरूलाई सार्वजनिक बिदाका दिनसमेत सञ्चालन गर्ने, सीमा नाका र क्वारेन्टाइन क्षेत्रमा निगरानी बढाउने तथा कुखुरा, अण्डा र दानाको ओसारपसारमा कडाइ गर्ने काम भइरहेको विभागले जनाएको छ।
यस्तै, अवैध रूपमा हुने पशुपन्छीको कारोबार नियन्त्रण गर्न सुरक्षा निकायसँग सहकार्य गरी विशेष निगरानी अभियान सञ्चालन गरिएको छ।
पशु सेवा विभागले कुखुरा पालक किसानलाई फार्ममा जैविक सुरक्षा प्रणाली कडाइका साथ लागू गर्न आग्रह गरेको छ।
संक्रमित वा शंकास्पद कुखुराको व्यवस्थापन गर्दा सुरक्षात्मक उपाय अपनाउन, मरेका कुखुरा खुला स्थानमा नफाल्न तथा अस्वाभाविक रूपमा कुखुरा बिरामी परेमा वा ठूलो संख्यामा मर्न थालेमा तत्काल नजिकको पशु सेवा कार्यालयलाई जानकारी गराउन विभागले अनुरोध गरेको छ।
विज्ञहरूका अनुसार बर्ड फ्लु नियन्त्रणमा सरकारी प्रयास मात्र पर्याप्त हुँदैन। किसान, व्यवसायी र उपभोक्ताको सचेत सहभागिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ।
अनावश्यक हल्ला, भ्रम र त्रास फैलाउनु भन्दा आधिकारिक तथा वैज्ञानिक जानकारीमा विश्वास गर्दै आवश्यक सावधानी अपनाउनु नै संक्रमण नियन्त्रणको प्रभावकारी उपाय भएको पशु सेवा विभागले जनाएको छ।
बर्ड फ्लुका कारण कुखुरा क्षेत्रमा चुनौती बढे पनि स्वस्थ र राम्ररी पकाइएको मासु तथा अण्डा सेवनबारे सर्वसाधारणले अनावश्यक डर मान्न नपर्ने विज्ञहरूको निष्कर्ष छ।
