सहायक सीडीयोको सागमा कीरा भेटिएपछि…
काठमाडौं। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका-२, चिसापानीस्थित रोयल कटेज प्रालिलाई खाद्य स्वच्छता मापदण्ड उल्लङ्घन गरेको आरोपमा ५० हजार रुपैयाँ जरिवाना गरिएको छ।
जिल्ला प्रशासन कार्यालयका अनुसार सहायक प्रमुख जिल्ला अधिकारी पोषणराज भण्डारीको नेतृत्वमा गएको अनुगमन टोली बालमैत्री स्थानीय तह घोषणासम्बन्धी कार्यक्रमको अनुगमनका क्रममा उक्त होटलमा खाना खान पुगेको थियो। सो क्रममा परोसिएको सागमा सङ्खे कीरा भेटिएपछि घटनाबारे तत्काल सम्बन्धित निकायलाई जानकारी गराइएको थियो।
त्यसपछि जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालयलगायतका निकायको संयुक्त टोलीले होटलमा अनुगमन गरेको थियो। अनुगमनका क्रममा प्रयोगमा रहेका खाद्य सामग्री, भान्साको सरसफाइ तथा तयार पारिएका परिकार खाद्य स्वच्छतासम्बन्धी मापदण्डअनुसार नभएको भेटिएको प्रशासनले जनाएको छ।
अनुगमनबाट होटलले खाद्य स्वच्छतासम्बन्धी आवश्यक मापदण्ड पालना नगरेको निष्कर्ष निकाल्दै रोयल कटेज प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनका क्रममा गृहमन्त्री सुदन गुरुङसहितको टोलीले चितवनको एक होटलमा अम्लेट खाँदा माछाको काँडा भेटिएको घटना पनि यतिबेला चर्चामा रहेको छ।
