`

स्वास्थ्य बिमा बन्द, बिरामी आफ्नै खर्चमा उपचार गर्न बाध्य

Nepal One HD १३ असार २०८३ १३:२९
जीवनशैली/स्वास्थ्य

काठमाडौं । सरकारले सञ्चालन गर्दै आएको स्वास्थ्य बिमा कार्यक्रम आर्थिक तथा व्यवस्थापकीय संकटमा पर्दै जाँदा त्यसको प्रत्यक्ष असर सेवाग्राहीमा देखिन थालेको छ।

स्वास्थ्य बिमा बोर्डबाट समयमै भुक्तानी नहुँदा कालीकोट जिल्ला अस्पतालले बिमाअन्तर्गतका सेवा स्थगित गरेपछि बिमा कार्ड बोकेर अस्पताल पुग्ने बिरामी आफ्नै खर्चमा उपचार गराउन बाध्य भएका छन्।

अस्पतालले लामो समयदेखि बिमा कार्यक्रमअन्तर्गतको उपचारबापतको रकम प्राप्त गर्न नसकेको, नयाँ दररेट व्यवहारिक नभएको र सेवा सञ्चालन गर्दा निरन्तर आर्थिक घाटा व्यहोर्नुपरेको जनाउँदै जेठ २४ गतेदेखि स्वास्थ्य बिमासम्बन्धी सम्पूर्ण सेवा बन्द गरेको हो। अस्पतालको निर्णयसँगै बिमामा आबद्ध हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन्।

स्वास्थ्य बिमा कार्ड बोकेर उपचारका लागि जिल्ला अस्पताल पुगेका बिरामीले पहिले निःशुल्क पाउने औषधि, परीक्षण तथा उपचारका लागि अहिले आफ्नै जेबबाट रकम तिर्नुपरेको छ। आर्थिक रूपमा कमजोर परिवारका लागि यो अवस्था थप चुनौतीपूर्ण बनेको छ।

खाँडाचक्र नगरपालिकाका टेकबहादुर शाही स्वास्थ्य बिमाको सुविधा लिन जिल्ला अस्पताल पुगेका थिए। तर बिमा सेवा बन्द भएको जानकारी पाएपछि उनले करिब पाँच हजार रुपैयाँ खर्च गरेर औषधि खरिद गर्नुपरेको बताए। उनका अनुसार पहिले बिमा कार्डकै आधारमा पाइने औषधिका लागि अहिले पूरा रकम तिर्नुपरेको छ।

यस्तै, कपिल शाहीले पनि बिमाबाट सेवा नपाएपछि करिब तीन हजार रुपैयाँ खर्च गरेर उपचार गराउनुपरेको बताए। उनीहरूजस्तै धेरै बिरामी अहिले स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा अतिरिक्त आर्थिक भार वहन गर्न बाध्य छन्।

जिल्ला अस्पतालका चिकित्सक डा. रत्नवीर सुनारका अनुसार स्वास्थ्य बिमा बोर्डले लागू गरेको हालको दररेटअनुसार सेवा दिँदा अस्पताललाई दैनिक करिब १० हजार रुपैयाँसम्म घाटा पर्ने अवस्था छ। यस्तो अवस्थामा निरन्तर सेवा सञ्चालन गर्न नसकिने भएकाले बिमा सेवा स्थगित गर्नुपरेको उनले बताए।

अस्पतालका जनस्वास्थ्य अधिकृत कटक महतका अनुसार स्वास्थ्य बिमा बोर्डबाट अस्पतालले पाउनुपर्ने करिब ७० लाख रुपैयाँ लामो समयदेखि भुक्तानी हुन बाँकी छ। रकम नआउँदा औषधि खरिद, स्वास्थ्य सामग्री व्यवस्थापन र नियमित सेवा सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको उनले बताए।

उनका अनुसार अस्पतालको असार २४ गते बसेको बैठकले स्वास्थ्य बिमा बोर्डबाट स्पष्ट निर्णय वा नयाँ व्यवस्था नभएसम्म बिमाअन्तर्गतका सबै सेवा स्थगित गर्ने निर्णय गरेको हो। साथै हाल लागू गरिएको परिमार्जित सुविधा थैली र नयाँ दररेट व्यवहारिक नभएकाले त्यसअनुसार सेवा सञ्चालन गर्न कठिन भएको अस्पतालको निष्कर्ष छ।

उता स्वास्थ्य बिमा बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले अस्पतालहरूले दाबी गरेको रकममध्ये ठूलो हिस्सा हालै भुक्तानी गरिएको बताएका छन्। बाँकी समस्या समाधानका लागि दररेट पुनरावलोकन गर्ने तयारी भइरहेको र आवश्यक सुधारका विषयमा काम अघि बढाइएको उनको भनाइ छ।

स्वास्थ्य बिमा कार्यक्रममार्फत उपचार गराउने नागरिकको संख्या ठूलो रहेकाले सेवा अवरुद्ध हुँदा सबैभन्दा बढी असर न्यून आय भएका र नियमित औषधि सेवन गर्नुपर्ने बिरामीमा परेको छ।

आफ्नै खर्चमा उपचार गर्न नसक्ने अवस्था भएका धेरै सेवाग्राही उपचार नै स्थगित गर्ने वा वैकल्पिक अस्पताल खोज्न बाध्य भएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *