हामी सधैंका लागि पराजित भएका होइनौँ : नेकपा
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले वर्तमान निर्वाचन परिणामलाई अस्थायी भन्दै आगामी दिनमा पुनः बलियो राजनीतिक शक्तिका रूपमा स्थापित हुने दाबी गरेको छ।
संसदमा बोल्दै नेकपाले आफूहरू अहिले पराजित भए पनि भविष्यमा पुनः सत्ताको प्रतिस्पर्धामा उभिने स्पष्ट सन्देश दिएको हो।
आइतबार प्रतिनिधिसभा बैठकमा नेकपाका प्रमुख सचेतक युवराज दुलाल (शरद)ले आवधिक निर्वाचनमा आफ्नो पार्टी रास्वपासँग पराजित भएको स्वीकार गर्दै त्यो स्थायी अवस्था नभएको बताए। उनले लोकतान्त्रिक व्यवस्थामा जनमत परिवर्तनशील हुने भएकाले आगामी निर्वाचनमा नेकपा पुनः प्रतिस्पर्धी शक्तिका रूपमा स्थापित हुने विश्वास व्यक्त गरे।
‘हामी आवधिक चुनावमा यो पटक तपाईंहरूसँग हारेका हौँ, सधैंका लागि हारेका होइनौँ। हामी पुनः प्रतिस्पर्धी शक्ति बनेर आउनेछौँ। आज दायाँतर्फ बसेका दलले पनि भविष्यमा अर्को शक्ति त्यही स्थानमा आउन सक्छ भन्ने कुरा बुझ्न आवश्यक छ,’ उनले भने।
दुलालले संसदीय अंकगणितलाई लोकतान्त्रिक प्रक्रियाको अस्थायी परिणामका रूपमा व्याख्या गर्दै विचार र राजनीतिक दर्शन नै दीर्घकालीन शक्ति हुने दाबी गरे। ‘हामी विचारका बीउ हौँ। सही विचारले समयअनुसार विकास पायो भने त्यसले समाजलाई गहिरो प्रभाव पार्न सक्छ। एउटा सानो झिल्कोले पनि ठूलो जंगल डढाउन सक्छ,’ उनले भने।
उनले नेपालका प्रगतिशील, लोकतान्त्रिक तथा वामपन्थी जनमतको विश्वास पुनः जित्दै देशको नेतृत्व गर्ने लक्ष्य कायमै रहेको बताए। त्यसका लागि पार्टी नवीन सोच, सक्षम नेतृत्व र नयाँ राजनीतिक पहलकदमीका साथ अघि बढ्ने उनको भनाइ थियो। उनले स्वच्छ प्रतिस्पर्धा र लोकतान्त्रिक मूल्यमान्यताभित्र रहेर राष्ट्र निर्माणमा योगदान गर्ने प्रतिबद्धतासमेत व्यक्त गरे।
यसक्रममा दुलालले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनबाट पारित दस्तावेजप्रति पनि टिप्पणी गरे। उक्त दस्तावेजका केही विषयले लोकतान्त्रिक प्रणाली र गणतान्त्रिक संरचनाप्रति प्रश्न उठाउने संकेत गरेको दाबी गर्दै उनले त्यसप्रति आफूहरूको गम्भीर चासो रहेको बताए।
‘लोकप्रियताको आवरणमा जनमत प्राप्त गरेको शक्तिले गणतन्त्रको आधारभूत संरचनालाई कमजोर बनाउने कुनै पनि प्रयास गरिरहेको छ भने त्यसप्रति हामी सचेत छौँ,’ उनले भने।
यद्यपि उनले रास्वपाको प्रथम महाधिवेशन सफलतापूर्वक सम्पन्न भएकोमा नवनिर्वाचित नेतृत्व तथा केन्द्रीय समितिलाई बधाई दिँदै लोकतान्त्रिक प्रतिस्पर्धामार्फत देशलाई अघि बढाउन सबै दल जिम्मेवार हुनुपर्ने धारणा पनि व्यक्त गरे।
