`

कालीमाटी बजारका तरकारीमा भेटियो अत्यधिक विषादी

Nepal One HD १४ असार २०८३ १४:३१
अर्थ समाचार

काठमाडौं। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा भित्रिएका केही तरकारीमा मानव स्वास्थ्यका लागि हानिकारक मात्रामा विषादीको अवशेष भेटिएपछि ती तरकारी तत्काल नष्ट गर्न निर्देशन दिइएको छ।

केन्द्रीय कृषि प्रयोगशालाले गरेको परीक्षणमा धादिङबाट ल्याइएको लौका, मकवानपुरबाट ल्याइएको काउली र सल्यानबाट ल्याइएको आलुमा सुरक्षित सीमाभन्दा धेरै विषादी भेटिएपछि उपभोग नगर्न आग्रह गरिएको हो।

केन्द्रीय कृषि प्रयोगशाला, हरिहरभवन ललितपुरअन्तर्गतको द्रुत विषादी अवशेष विश्लेषण एकाइले असार १२ गते संकलन गरिएका तरकारीका नमुनाको परीक्षण गरेको थियो। सो परीक्षणको नतिजा सार्वजनिक हुँदा तीनवटा नमुनामा अर्गानोफस्फेट समूहको विषादीको मात्रा तोकिएको मापदण्डभन्दा निकै बढी रहेको पुष्टि भएको हो।

प्रयोगशालाको प्रतिवेदनअनुसार धादिङको गजुरी गाउँपालिकाबाट कृषक कृष्णबहादुर धितालले ल्याएको लौकामा ६६.५१ प्रतिशत अर्गानोफस्फेट विषादीको रोकावट दर (इन्हिबिसन प्रतिशत) पाइएको छ। त्यसैगरी मकवानपुरको थाहा नगरपालिकाबाट रामेश्वरप्रसाद कानुले ल्याएको काउलीमा ६४.५४ प्रतिशत र सल्यानबाट भरतप्रसाद अर्यालले ल्याएको आलुमा ६६.९९ प्रतिशत विषादीको रोकावट दर भेटिएको छ। यी तीनै नमुनामा विषादीको मात्रा अत्यधिक भएकाले तत्काल बजारबाट हटाई नष्ट गर्न निर्देशन दिइएको छ।

प्रचलित मापदण्डअनुसार कुनै पनि कृषि उपजमा विषादीको रोकावट दर ४५ प्रतिशतभन्दा बढी देखिएमा त्यसलाई मानव उपभोगका लागि अयोग्य मानिन्छ र त्यस्ता उत्पादन अनिवार्य रूपमा विसर्जन गर्नुपर्ने व्यवस्था रहेको छ। यही कानुनी प्रावधानअनुसार ती तीनवटै तरकारी बजारमा बिक्री वितरण गर्न नपाइने भएको हो।

यद्यपि, सोही दिन परीक्षण गरिएका अन्य नौवटा तरकारीका नमुना भने सुरक्षित पाइएको प्रयोगशालाले जनाएको छ। ललितपुरको गोदावरीबाट ल्याइएको गोलभेँडा, मकवानपुरको बन्दागोभी, धादिङको तितेकरेला र भान्टा, रोल्पाको आलु, सिन्धुपाल्चोकका दुई फरक स्थानबाट ल्याइएका आलु, सल्यानको अर्को नमुना आलु तथा भारतबाट आयात गरिएको प्याजमा विषादीको मात्रा तोकिएको सुरक्षित सीमाभित्र रहेको पुष्टि भएको छ। यी कृषि उपज उपभोगका लागि योग्य रहेको प्रयोगशालाको निष्कर्ष छ।

प्रयोगशालाले विषादी परीक्षणका लागि स्पष्ट मापदण्ड अपनाउँदै आएको छ। ३५ प्रतिशतभन्दा कम विषादी रोकावट दर भएका कृषि उपजलाई सुरक्षित मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म रोकावट दर भएका उत्पादनलाई केही दिन राखेपछि मात्रै प्रयोग गर्न सिफारिस गरिन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी भेटिएमा त्यस्ता उत्पादन पूर्ण रूपमा नष्ट गर्नुपर्ने व्यवस्था छ।

कृषि विज्ञहरूले अत्यधिक विषादी प्रयोगले मानव स्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिएका छन्। विषादीयुक्त तरकारीको नियमित सेवनले स्नायु प्रणाली, कलेजो, मिर्गौला तथा अन्य आन्तरिक अंगमा गम्भीर समस्या निम्त्याउन सक्ने भएकाले किसानले सिफारिस गरिएको मात्रामा मात्र विषादी प्रयोग गर्न र उपभोक्ताले पनि खरिद गर्दा सतर्कता अपनाउनुपर्ने उनीहरूको सुझाव छ।

केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारमा नियमित रूपमा तरकारी तथा फलफूलको विषादी परीक्षण गर्दै आएको छ।

बजारमा बिक्री हुने कृषि उपजको गुणस्तर सुनिश्चित गर्दै उपभोक्ताको स्वास्थ्य संरक्षण गर्ने उद्देश्यले यस्तो निगरानीलाई निरन्तरता दिइएको जनाइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *