असार २६ गतेबाट देशभर लाग्दै ‘भागदौड’
काठमाडौं । नेपाली चलचित्र ‘भागदौड’ आगामी असार २६ गतेदेखि देशभर प्रदर्शनमा आउने भएको छ। चलचित्रले ललितपुरको ऐतिहासिक बस्ती बुङ्मतीको मौलिक सभ्यता, नेवारी कला–संस्कृति र त्यहाँ बसोबास गर्ने विभिन्न समुदायबीचको सामाजिक सहअस्तित्वलाई मुख्य विषयवस्तु बनाएको छ।
निर्माण पक्षका अनुसार चलचित्रमा परम्परागत जीवनशैली र आधुनिक समाजबीचको द्वन्द्व, सांस्कृतिक पहिचानको संरक्षण तथा सामाजिक सम्बन्धलाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। बुङ्मतीको ऐतिहासिक र सांस्कृतिक पक्षलाई कथासँग जोड्दै दर्शकमाझ फरक अनुभव दिने प्रयास गरिएको बताइएको छ।
चलचित्रका अभिनेता विशाल पोखरेलले यस फिल्ममा पहिलो पटक प्रहरीको भूमिकामा अभिनय गरेको जानकारी दिए। उनले प्रहरीको चरित्रलाई यथार्थपरक रूपमा प्रस्तुत गर्ने प्रयास गरेको उल्लेख गर्दै बाल्यकालदेखि नै प्रहरी बन्ने आफ्नो चाहना चलचित्रमार्फत केही हदसम्म पूरा भएको अनुभव सुनाए।
‘यस चलचित्रमा आबद्ध हुनुको प्रमुख कारण नै प्रहरीको भूमिका थियो। पहिलो पटक यस्तो पात्र निभाउने अवसर पाएँ र त्यसलाई न्याय गर्ने प्रयास गरेको छु,’ उनले भने।
हिमाल उप्रेतीको लेखन तथा निर्देशनमा तयार भएको ‘भागदौड’मा विशाल पोखरेलसँगै अनिशा श्रेष्ठ, घनश्याम जोशी, शारदा राई (सारा), शेखर चापागाईं, देशभक्त खनाल, लक्ष्मी गिरी, शङ्कर महर्जन तथा सुवास तिमिल्सिनालगायत कलाकारहरूको अभिनय रहेको छ।
चलचित्रका प्रस्तुतकर्ता विश्वराम विष्टले ‘भागदौड’ केवल मनोरञ्जनमा सीमित नभई समाजलाई सकारात्मक सन्देश दिने उद्देश्यले निर्माण गरिएको बताए। दर्शकको रुचि र अपेक्षालाई केन्द्रमा राखेर निर्माण गरिएको यस चलचित्रमा कुनै पक्षमा सम्झौता नगरिएको उनको भनाइ छ।
अङ्गिरा थापा कार्यकारी निर्माताको रूपमा रहेका चलचित्रमा भूपेन्द्रकुमार खड्का, सागर पुरी र सुरेश गिरी सहनिर्माताका रूपमा आबद्ध छन्।
निर्माण टोलीले सांस्कृतिक सम्पदा, सामाजिक सद्भाव र मनोरञ्जनलाई एउटै कथामा समेट्ने प्रयास गरेको दाबी गरेको छ।
