५१औँ दिन मनाउँदै गर्दासम्म ‘लालीबजार’ले कति कमायो ?
काठमाडौं । नेपाली फिल्म ‘लालीबजार’ले प्रदर्शनको ५१औँ दिन पूरा गरेको अवसरमा निर्माण टिमले विशेष कार्यक्रम आयोजना गर्दै सफलताको उत्सव मनाएको छ। राजधानीमा सोमबार साँझ आयोजित कार्यक्रममा कलाकार, प्राविधिक तथा चलचित्रकर्मीहरूको उपस्थितिमा केक काटेर खुसी साटिएको हो।
बक्सअफिसमा ९ करोड ३१ लाख रुपैयाँभन्दा बढीको व्यापार गर्न सफल भएको फिल्मले देशका केही चलचित्र हलमा ५१औँ दिनसम्म प्रदर्शन कायम राख्न सफल भएको निर्माण पक्षले जनाएको छ।
उत्सव कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, वरिष्ठ अभिनेत्रीहरू चैत्यदेवी सिंह, बसुन्धरा भुसाल, भुवन चन्दलगायत चलचित्र क्षेत्रका विभिन्न व्यक्तित्वहरूको सहभागिता रहेको थियो। कार्यक्रममा फिल्मको सफलतामा योगदान पुर्याउने कलाकार तथा प्राविधिकलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो।
रिलिजअघि वादी समुदायको विरोध र अदालतसम्म पुगेको कानुनी विवादका कारण चर्चामा रहेको ‘लालीबजार’ अन्ततः वैशाख २५ गतेबाट प्रदर्शनमा आएको थियो। प्रारम्भिक रूपमा वैशाख १८ गते प्रदर्शन गर्ने तयारी भए पनि केही प्राविधिक तथा व्यवस्थापकीय कारणले प्रदर्शन मिति सारिएको थियो।
फिल्ममा मुख्य भूमिकामा अभिनेत्री स्वस्तिमा खड्का रहेकी छन्। सफलताको उत्सवका क्रममा उनले मञ्चमै नृत्य प्रस्तुत गर्दै कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएकी थिइन्।
यम थापाको निर्देशनमा बनेको ‘लालीबजार’का निर्माता म्याक्स दिपेश खत्री हुन्। फिल्ममा स्वस्तिमासँगै रवीन्द्रसिंह बानियाँ, प्रदीप भट्टराईलगायत कलाकारहरूको अभिनय रहेको छ।
