बेबी बम्पको तस्बिर सार्वजनिक : आमा बन्दै सामन्था
काठमाडौं। दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आमा बन्ने भएकी छन्। उनले यसै वर्षको अन्त्यतिर आफ्नो पहिलो सन्तानलाई जन्म दिने अपेक्षा गरिएको छ।
सामन्थाले हालै सामाजिक सञ्जालमा आफ्नो बेबी बम्प देखिएको तस्बिर सार्वजनिक गरेकी छन्। कालो पहिरनमा खिचिएको उक्त तस्बिरमा उनको अनुहार भने देखाइएको छैन।
इन्स्टाग्राम स्टोरीमार्फत तस्बिर साझा गर्दै उनले रमाइलो शैलीमा लेखेकी छन्, ‘मेरा सिक्स-प्याक एब्स, अब तिमीसँग केही समयपछि भेट हुनेछ।’
उनको यो पोस्ट सार्वजनिक भएपछि सामाजिक सञ्जालमा प्रशंसकहरूले बधाई तथा शुभकामनाको ओइरो लगाइरहेका छन्।
केही साताअघि मात्रै सामन्थाले आफ्ना पति तथा फिल्म निर्माता राज निदिमोरुसँग पहिलो सन्तानको प्रतीक्षा गरिरहेको जानकारी सार्वजनिक गरेकी थिइन्।
यसअघि आफ्नो फिल्म ‘मा इन्टी बंगारम’को सफलतापछि आयोजित कार्यक्रममा उनले स्वास्थ्य र मातृत्वलाई प्राथमिकता दिन केही समय अभिनयबाट विश्राम लिने बताएकी थिइन्।
उनले भनेकी थिइन्, ‘फिल्म ‘मा इन्टी बंगारम’पछि केही समय स्वास्थ्यमा ध्यान दिन चाहन्छु। म मातृत्व बिदामा रहनेछु र त्यसपछि आफ्ना दर्शकका लागि नयाँ फिल्ममार्फत पुनः ठूलो पर्दामा फर्किनेछु।’
