`

काउलीमा भेटियो अत्यधिक विषादी

Nepal One HD १८ असार २०८३ ११:४१
अर्थ समाचार

काठमाडौं। कालीमाटी तरकारी तथा फलफूल बजारमा बिक्रीका लागि ल्याइएको काउलीमा अत्यधिक मात्रामा विषादी फेला परेको छ।

नियमित अनुगमनका क्रममा गरिएको परीक्षणमा मानव स्वास्थ्यका लागि असुरक्षित मानिने स्तरको अर्गानोफस्फेट समूहको विषादी भेटिएपछि सम्बन्धित तरकारी तत्काल बजारबाट हटाउन निर्देशन दिइएको हो।

कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिका अनुसार दक्षिणकाली क्षेत्रबाट बजारमा ल्याइएको काउलीको नमुना परीक्षण गर्दा ९०.३००४२३ प्रतिशत अर्गानोफस्फेट विषादी अवशेष फेला परेको हो। उक्त परिणाम स्वीकृत मापदण्डभन्दा धेरै माथि रहेकाले त्यसलाई उपभोगका लागि अयोग्य ठहर गरिएको छ।

बिहीबार केन्द्रीय कृषि प्रयोगशालाले कालीमाटी बजारभित्र रहेका १२ वटा पसलबाट संकलन गरिएका १२ प्रकारका तरकारीको विषादी परीक्षण गरेको थियो। परीक्षणका क्रममा पसल नम्बर ४४५६ मा बिक्रीका लागि राखिएको काउलीमा अत्यधिक विषादी देखिएपछि सम्बन्धित व्यवसायीलाई उक्त काउली तत्काल विसर्जन गर्न निर्देशन दिइएको समितिले जनाएको छ।

हाल बजारमा कार्बामेट र अर्गानोफस्फेट समूहका कीटनाशक विषादीको अवशेष परीक्षण गर्ने व्यवस्था रहेको छ। प्रचलित मापदण्डअनुसार ३५ प्रतिशतभन्दा कम विषादी अवशेष रहेको तरकारी उपभोगयोग्य मानिन्छ। ३५ देखि ४५ प्रतिशतसम्म भए केही समय सुरक्षित रूपमा राखेर मात्र प्रयोग गर्न सिफारिस गरिन्छ भने ४५ प्रतिशतभन्दा बढी विषादी भेटिए त्यस्तो तरकारी खान अयोग्य मानिने व्यवस्था छ।

यसपटक परीक्षण गरिएको काउलीमा ९० प्रतिशतभन्दा बढी अर्गानोफस्फेट विषादी भेटिएकाले त्यसको उपभोगले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने जोखिम रहेको अधिकारीहरूले बताएका छन्।

समितिले बजारमा नियमित रूपमा विषादी परीक्षणलाई निरन्तरता दिइरहेको जनाएको छ। उपभोक्ताको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै मापदण्डविपरीत विषादी भेटिएका कृषि उपज बजारमा बिक्री गर्न नदिने र आवश्यक कारबाही प्रक्रिया अघि बढाइने समितिको भनाइ छ।

कृषि तथा खाद्य सुरक्षा क्षेत्रका विज्ञहरूले पनि तरकारी तथा फलफूल प्रयोग गर्नु अघि राम्रोसँग पानीले धुने, आवश्यक परे केही समय सफा पानीमा भिजाएर प्रयोग गर्ने तथा विश्वसनीय स्रोतबाट मात्र कृषि उपज खरिद गर्न उपभोक्तालाई आग्रह गर्दै आएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *