नारायण त्रिपाठीको ‘चमेलीको पोइ’मा फरक अवतार
काठमाडौं । ‘प्रेमचरो’ उपनामबाट लोकप्रिय हास्य कलाकार नारायण त्रिपाठी करिब डेढ दशकपछि नेपाली चलचित्रमा पुनः फर्किएका छन्।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका त्रिपाठी आगामी असोज १६ गते प्रदर्शनमा आउन लागेको फिल्म चमेलीको पोइ मार्फत नेपाली रजतपटमा पुनरागमन गर्न लागेका हुन्।
फिल्म निर्माण पक्षले सार्वजनिक गरेको दोस्रो पोस्टरमा त्रिपाठीलाई यसअघिका भूमिकाभन्दा निकै फरक शैलीमा प्रस्तुत गरिएको छ। पोस्टरमा उनको अनुहारभरि चोटका डाम देखिन्छन् भने च्यातिएको पहिरन र थकित भावभङ्गीले उनी निर्वाह गरेको पात्रप्रति दर्शकको उत्सुकता बढाएको छ।
सार्वजनिक पोस्टरमा नारायण त्रिपाठीसँगै सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई, रामनारायण उपाध्याय, सुदीप कुँवर र उमेश राईलाई पनि स्थान दिइएको छ। निर्माण पक्षका अनुसार पोस्टरले फिल्मका पात्र र कथाको भावलाई संकेत गर्ने प्रयास गरेको छ।
फिल्ममा प्रेमदेव गिरी, रवीन्द्र झा, अंशु महर्जन, खडकबहादुर पुन (खबपु), रजनी गुरुङ, सुनीता सापकोटा, गणेश गौतम, धनलक्ष्मी बोहरा, श्रेया नारायण, अनुष्का नारायण, मिना आरएल शाह र रितु मल्ल ठकुरीलगायत कलाकारको पनि अभिनय रहेको छ।
चमेलीको पोइ को कथा निर्देशक एभरेष्ट सूर्य बोहराले तयार पारेका हुन् भने लेखन शिवम् अधिकारीले गरेका छन्। पटकथा तथा संवाद पनि निर्देशक बोहराकै रहेको छ।
धन लक्ष्मी सिने मेकर्सको ब्यानरमा निर्माण भएको फिल्मका निर्माता रामनारायण उपाध्याय र सुनीता सापकोटा हुन्। कार्यकारी निर्माताका रूपमा उदय विक्रम राणा, रितु मल्ल ठकुरी र कपिल आचार्य रहेका छन् भने धनकुमारी श्रेष्ठ लाइन प्रोड्युसर हुन्। सुदीप कुँवर, सुमित्रा थापा, नारायण त्रिपाठी, यमप्रसाद ओली र प्रदीपकुमार सापकोटा सहनिर्माताका रूपमा आबद्ध छन्।
मुस्ताङ, पोखरा र काठमाडौंमा छायाङ्कन गरिएको फिल्मको वितरण आरआर फिल्म्सले गर्नेछ। निर्माण पक्षले असोज १६ गतेदेखि फिल्मलाई नेपालसहित विश्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शन गर्ने तयारी गरेको जनाएको छ।
नेपाली टेलिचलचित्र तथा हास्य अभिनयबाट लोकप्रियता कमाएका नारायण त्रिपाठीको लामो अन्तरालपछि भएको चलचित्र पुनरागमनलाई दर्शक तथा चलचित्र वृत्तमा विशेष चासोका साथ हेरिएको छ।
