`

मास्टर्नी बन्दै प्रियंका कार्की

Nepal One HD १९ असार २०८३ १४:२४
चलचित्र

काठमाडौं । अभिनेत्री प्रियंका कार्कीको मुख्य भूमिका रहेको नेपाली फिल्म ‘मास्टर्नी’ आगामी ५ भदौदेखि देशभर प्रदर्शनमा आउने भएको छ।

निर्माण कम्पनी आयंका फिल्म्सले शुक्रबार फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेको हो। प्रियंकाकै होम प्रोडक्सनमा निर्माण भएको फिल्मको पोस्टरमा उनलाई केन्द्रमा राखिएको छ। पोस्टरमा उनी ट्युबभित्र डुबेको भावमा देखिएकी छन्, जसले फिल्मको कथावस्तुबारे रहस्यमय संकेत गर्छ।

पोस्टरमा ‘प्रायः शान्त मस्तिष्कले खतरनाक योजना बनाइरहेका हुन्छन्’ भन्ने बटमलाइन समावेश गरिएको छ। यसले फिल्मको मनोवैज्ञानिक र सस्पेन्सपूर्ण कथालाई झल्काउने प्रयास गरेको देखिन्छ।

फिल्मको निर्देशन शुभेन्दु घोषले गरेका हुन्। यसअघि उनले निर्देशन गरेको ‘आइएम जितबहादुर’ प्रदर्शनमा आएको भए पनि बक्स अफिसमा अपेक्षित सफलता हासिल गर्न सकेको थिएन।

‘मास्टर्नी’मा प्रियंका कार्कीसँगै आर्यन सिग्देल, सरोज खनाल, गौरी मल्ल, प्रमोद अग्रहरी, ऋचा शर्मा, अनुपविक्रम शाही, सिम्रन खड्का, रक्षा थापा र दिनेश काफ्लेको अभिनय रहेको छ।

फिल्ममा प्रियंकासहित क्याबिनेट श्रेष्ठ, आयुष्मान जोशी र प्रनित कार्की निर्माता छन्। कार्यकारी निर्माता सुरक्षा सिंह मल्होत्रा हुन् भने सिमोस सुनुवार क्रिएटिभ निर्माताका रूपमा आबद्ध छन्।

फिल्मको पटकथा शान बस्न्यातले लेखेका हुन्। युवराज इन्दोरियाले छायांकन गरेको फिल्मलाई राजासिंह सिदुले सम्पादन गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *